देश

स्थानीय विस्थापित नहुने गरी सुरुङ मार्ग निर्माण सम्पन्न गर्न निर्देशन


काठमाडौँ – संसदीय समितिले स्थानीयबासीलाई विस्थापित नहुने गरी नागढुंगा सुरुङ मार्ग निर्माण कार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभा अन्तरगतको दीगो विकास तथा सुशासन समितिको टोलीले राष्ट्रिय गौैरवको आयोजनाको रुपमा रहेको नागढुंगा सुरुङ मार्ग निर्माण कार्यको स्थलगत अवलोकन गरेपछि यस्तो निर्देशन दिएको हो ।

समिति सभापति तारादेवी भट्टले आयोजना अघि बढाउन देखिएका समस्या समाधान गर्न पहले गर्ने बताउनुभएको छ । संसदीय अनुगमन टोलीलाई आयोजनाका पदाधिकारीहरुले कार्य प्रगतिबारे जानकारी गराएका थिए । आयोजनाका निर्देशक नरेशमान शाक्यले आयोजना तोकिएकै समयमा सम्पन्न गर्न जग्गाको मुआब्जा वितरण र कोभिड खोपको आवश्यक व्यवस्था मिलाउने काम बाधक रहेको बताउनुभयो । उहाँले एक महिना भित्र समस्या समाधान हुन सके आयोजनाको कामले गति लिने बताउनुभयो ।

आयोजनाले सुरुङ मार्ग निर्माणको काम १८ दशमलव ५ प्रतिशत सम्पन्न भएको जनाएको छ । जापान सरकारको ० दशमलव ०१ प्रतिशत ब्याजदरको आर्थिक ऋण सहायतामा सुरु गरिएको आयोजनाको काम सुरु भएको करिव १९ महिना पुगेको छ । साढे ५ किलोमिटर लम्बाई रहेको यो सुरुङ मार्गको मुख्य काम आगामी जेठभित्र सम्पन्न गर्ने योजनाका साथ काम भईरहेको आयोजनाका निर्देशक शाक्यले बताउनुभयो ।