राजनीति

२० दिनसम्म मन्त्रिमण्डल विस्तार गर्न देउवा असफल, कहिले पाउँला पूर्णता ? (भिडियोसहित)


काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको २० दिन पुगिसकेको छ । यसबीचमा सांसद्बाट विश्वासको मत पनि पाइसकेका देउवाले मन्त्रिमण्डललाई भने पूर्णता दिन सकेका छ्रैनन् । गठबन्धनका दलहरुले मन्त्री छान्न नसक्दा पनि देउवालाई मन्त्रिमण्डल टुंगो लगाउन सकस परेको देखिन्छ ।

गठबन्धनको सहयोगमा गठन भएको सरकारले झण्डै ३ साता बित्दासमेत मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन । अहिलेसम्म प्रधानमन्त्रीसहित ५ सदस्यीय मन्त्रिपरिषद् बने पनि सिंहदरबारमा रहेका अधिकांश मन्त्रालयहरु नेतृत्वविहीन छन् ।

सत्ता गठबन्धनभीत्रका दलहरुको आन्तरिक किचलो हेर्दा मन्त्रिपरिषद्ले तत्काल पूर्णता पाउने देखिँदैन । दुई साता बितिसक्दा यो बीचमा न त माओवादीले आफ्नो भागको मन्त्रीको टुंगो लगाउँन सकेको न त जसपाले नै । मन्त्रीमण्डलको विषयलाई लिएर आइतवार विहान प्रचण्ड र माधवबीच छलफल भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले भने आइतवार पनि मन्त्रीको टुंगो लगाउन आन्तरिक छलफल गरेपनि सफल भएन । सोमबार बोलाईएको स्थायी कमिटी बैठकले थप छलफल गरि मन्त्रीको टुंगो लगाउने उसको तयारी छ ।

हाल सरकारमा प्रधानमन्त्रीसहित कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री छन् । जसपा र नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषदलाई पूर्ण दिने तयारीमा प्रधानमन्त्री लागेका छन् । कांग्रेस र माओवादीमा पनि थप मन्त्री छान्न बाँकी छ । त्यसोत करिब डेढ वर्ष चल्ने वर्तमान गठबन्धनको सरकारमा मन्त्री बन्न चाहानेहरुको लस्कर लामै छ ।

यसै कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्यवस्थापनमा टाउको दुखाईको विषय बनेको छ । जुन कुरा प्रचण्डले सार्वजनिक मञ्चमै व्यक्त गरिसकेका छन् । समस्या माओवादीमा मात्रै होइन जसपा, माधव समूह र गुटैगुटले भरिएको कांग्रेसभित्र पनि देखिएको छ ।

नेपाल पक्षले भने सरकारमा सहभागी हुने–नहुने विषयमा स्पष्ट पारिरहेको छैन । तर पार्टीमा एकताको पहल भईरहेकाले पनि नेपाल पक्षले भने तत्काल सरकारमा सहभागी नहुने बताउँदै आएको छ । यता देउवालाई विश्वासको मत दिएका सांसदहरूले सरकारमा सहभागी हुनपर्ने भन्दै नेपाललाई दबाब दिइरहेका छन् । लामो समयसम्म मन्त्रालय नृतृत्वविहिन हुँदा जनताका जनजिविका विषयहरु सम्बोधन हुन सकेका छैनन् ।