राजनीति

तोकिएको मितिमा काँग्रेस महाधिवेशन असम्भव (भिडियोसहित)


काठमाडौँ – आगामी भदौ महिनाभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता रहेपनि नेपाली काँग्रेसको तयारी त्यसअनुरुप देखिदैन ।
वडा तहको अधिवेशन स्थगित भएसँगै तोकिएको मितिमा महाधिवेशन नहुने निश्चित छ, र पनि नेताहरुले मुख फोर्न भने सकेका छैनन् । बरु महाधिवेशन सार्न सकिने कानुनी आधारको खोजीमा नेताहरु लागेका छन् ।

नेपाली काँग्रेसको तोकिएको महाधिवेशन मिति आउन एक महिना मात्र बाँकी छ । तर क्रियाशिल सदस्यता वितरण विवादका कारण वडा तहको अधिवेशन नै स्थगित भएको छ । वडा तह स्थगित हुँदा साउन २० गतेलाई तोकिएको प्रदेशसभा क्षेत्रीय अधिवेशन पनि स्थगित हुने निश्चित छ । तर काँग्रसका शीर्ष नेताहरु भने तोकिएकै मितिमा महाधिवेशन हुने रटान छोडेका छैनन् । त्यसैगरी दोस्रो तहका नेताहरु पनि महाधिवेशन मिति सार्न नहुने भन्दै दावाव दिइरहेका छन् ।

बस्तुगत रुपमा हेर्दा ताकिएको मितिमा काँग्रेस महाधिवेशन गर्न सम्भव देखिँदैन । सविधानअनुसार हरेक साढे ५ वर्षभित्र सबै राजनीतिक दलले केन्द्रीय अधिवेशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यो समय गुजारीसकेको काँग्रेसले महाधिवेशन सार्न संवैधानिक विकल्पको खोजी गर्नुपर्ने आवाज उठ्न थालेको छ । सर्वोच्च अदालतले लकडाउन अवधिलाई ‘शून्य अवधि’ मान्नुपर्ने बताएकाले त्यसमै टेकेर काँग्रेस महाधिवेशन ६ महिना सार्नसकिने नेताहरुले बताउने गरेका छन् ।

यता शुन्य अवधि मान्ने अदालतले निर्णय कर तिर्ने सवालमा आएकोले त्यसकै आधारमा महाधिवेशन सार्दा पछि झमेलामा पर्न सकिने भन्दै फास्ट ट्रयाकमा भएपनि तोकिएकै मितिमा महाधिवेशन गर्न नेतृत्वलाई दवाव पर्ने गरेको छ ।
काँग्रेसका युवा नेता गगन थापाले शुन्य समयलाई आधार मानेर महाधिवेहन सार्दा कसैले मुद्या हालेमा हार्न सकिने र एमाले, जसपालगायतका पार्टीजस्तो झोला बोकेर सर्वोच्च अधालत धाइरहनुपर्ने हुन सक्ने भन्देै लोकतान्त्रीक पार्टीको लागि यो सोभानिय नहुने बताउँछन् ।

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्ष पनि महाधिवेशन सारेर जोखिम मोल्न नहुने पक्षमा देखिन्छ । लोकतान्त्रीक पार्टी हुनुको नाताले लोकतान्त्रिक पद्दतिमार्फत संविधानले दिएकै समयभित्र महाधिवेशन गर्नुपर्ने यो पक्षको दाबी छ ।
विशेष अवस्था भएकोले यसअघि जस्तो व्यवस्तित रुपमा महाधिवेशन सम्पन्न गर्न नसकिए पनि जस्तो सकिन्छ त्यस्तै तयारीले तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने आवाज उनीहरुले उठाइरहेका छन् ।

त्यसो त काँग्रेस सभापति पनि राष्ट्रिय माहौल नै आफू अनुकुल भएकोले भदौमै महाधिवेशन गर्ने पक्षमा छन् । त्यसैगरी रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष पनि महाधिवेशन सार्ने पक्षमा छैनन् । तर तयारी नै नपुगेको र विवाद नै समाधान नभएकोले नेताहरुले चाहँदैमा पनि महाधिवेशन तोकिएको समयमा गर्न सकिने अवस्था छैन । समय धेरै नै घर्कीसकेकोले काँग्रेसमा महाधिवेशन सार्ने संवैधानिक व्यवस्था खोज्नुको विकल्प नरहेको विज्ञहरु बताउँछन् ।