राजनीति

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन छलफलमा, नेपाल पक्ष पनि सरकारमा सहभागी हुने अध्यक्ष यादवको दाबी


काठमाडौँ – मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनमा छलफल हुने भएको छ । सत्तारुढ गठबन्धनका नेता एवं जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा बैठकमा छलफल हुने जानकारी दिनुभयो । उहाँका अनुसार भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्ण दिने गरी छलफल हुने छ ।

यादवले एमालेको माधवकुमार नेपाल पक्ष पनि सरकारमा सहभागी हुने दाबी गर्नुभयो । प्रतिगमनविरोधी आन्दोलनमा होमिएको गठबन्धन आगामी निर्वाचनसम्मै कायम राख्नुपर्नेमा यादवको जोड रहेको छ । हाल प्रधानमन्त्रीसहित कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री छन् । जसपा र नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषदलाई पूर्ण दिने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा लाग्नुभएको छ ।
कांग्रेस र माओवादीमा पनि थप मन्त्री छान्न बाँकी रहेको छ । नेपाल पक्षले भने सरकारमा सहभागी हुने–नहुने विषयमा स्पष्ट पारिरहेको छैन । देउवालाई विश्वासको मत दिएका सांसदहरूले सरकारमा सहभागी हुनपर्ने भन्दै नेपाललाई दबाब दिइरहेका छन् ।