राजनीति

एमालेमा एकैदिन तीन प्रयास, युद्धविराम तोड्दै ओली–माधव थप आक्रामक


काठमाडौँ – एमाले विवाद न एकता, न विभाजनमा अड्कीएका बेला अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्ता नेतालाई पार्टीमा ठाउँ नभएको बताए । यसअघि एमाले विवाद समाधानका नेपाललाई दोस्रो अध्यक्ष बनाएर जान तयार रहेको उद्घोष गरेका ओलीले पार्टीमा ठाउँ नभएको बताएपछि नेपालले पनि ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

शुक्रबार नेकपा एमालेको पार्टी कार्यालय थापाथलीमा साउन १५ लाई लक्षित गरि खीर खाने कार्यक्रम तय गरेको थियो । कार्यक्रममा एमालेको सिङगो पंक्ति नभएर ओली पक्षको मात्रै सहभागि थियो । किनकि अहिले एमाले भनेकै ओली पक्ष जस्तो बनेको छ भने, माधव नेपाल पक्षसरणार्थी बनेको छ वा बनाईएको छ । त्यसै नेताहरु भनिरहेका छन् । माधव नेपालको एमालेमा कुनै भूमिका छैन र स्थान पनि छैन । दोस्रो अध्यक्ष बनाएर जान पनि सकिदैन । शुक्रबार महासचिव ईश्वर पोखरेलले नेता नेपालको दोस्रो अध्यक्ष बनाएर जाने प्रस्ताव स्वीकार्न नसक्ने बताएका थिए । यसअघि अध्यक्ष ओलीले विवाद समाधानका लागि नेपाललाई दोस्रो अध्यक्ष बनाएर जान तयार रहेको घोषणा गरेका थिए । तर शनिबार अध्यक्ष ओलीले नै माधव नेपाल जस्ता नेतालाई पार्टीमा ठाउँ नभएको बताए ।

पार्टीभित्रको विवाद न एकतामा अग्रसर, न विभाजन भएर आ–आफ्नै बाटोमा लागिहाल्ने, निश्चित नभएकै अवस्थामा अड्कीएपछि शुक्रबारसम्म युद्धविरामको अवस्थाको थियो । तर शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति आक्रामक अभिव्यक्ति दिएपछि पुनर्मिलन थप टाढीएको छ । पार्टी अध्यक्ष ओलीको भनाई लगत्तै वरिष्ठ नेता नेपालले पनि ओलीलाई लक्षित गर्दै फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

शनिबार नै विवाद समाधानका लागि बनेको विघटित कार्यदलको बैठक बसेर नेताहरुले तत्काल एकता कार्य सम्पन्न नगरे एमालेमा थप क्षति पुग्ने निष्कर्ष निकालेका छन् । उनीहरुले १० बूँदे सहमतिको कार्यान्वयन र दुई अध्यक्षको अवधारणा अनुसार पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने स्पष्ट पारेका छन् । तर नेता नेपालले शक्ति बाँडफाँड र ओलीले विगतका गल्ती र कमजोरी स्वीकार्दै माफी माग्नुपर्ने अडान लिएका छन् भने ओलीले नेपाल जस्तो बाटो विराएका मुख्यमुख्य अपराधीबाहेकलाई एमालेमा स्वागत गर्न सकिने भनेका छन् ।फलतः मिल्नै नचाहने दुई शिर्ष नेताका कारण एमाले यतिकैमा मत्थर देखिएको छैन ।