काठमाडौँ – अत्यावश्यक सेवामा कार्यरत व्यक्तिका लागि आज काठमाडौँ उपत्यकाका विभिन्न खोप केन्द्रबाट भेरोसेल खोपको पहिलो डोज खोप लगाइने भएको छ ।
प्रसूति गृह अस्पताल थापाथली, काठमाडौँ मेडिकल कलेज सिनमंगल, निजामती कर्मचारी अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज, राधास्वामी आइसोलेसन सेन्टर सामखुसी, सशस्त्र प्रहरी अस्पताल बलम्बु गरी ६ स्थानमा अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुका लागि मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाइने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
साथै‚ काठमाडौँ महानगरपालिकाका ३२ वडाको खोप केन्द्र र अरु १० वटा नगरपालिकाका खोप केन्द्रहरुमा भेरोसेल पहिलो मात्रा लगाउने कार्यक्रम यथावत् रहेको पनि जनाइएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र वीर अस्पतालमा भने खोप दिने कार्यक्रम रोकिएको छ। लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरुको घुसपेठ नियन्त्रण गर्न कठिन भएको र अस्पतालमा कोभिडका बिरामीको चाप पनि बढ्न गएकाले ती दुई अस्पतालमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम हाललाई स्थगन गरिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया