Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

सेक्युरिटी प्रेस चल्न अझै ९ महिना लाग्ने


काठमाडौँ – असार मसान्तसम्म जडान गरी चलाउन योग्य बनाउने भनिएको सुरक्षण मुद्रण प्रेस तत्काल सञ्चालनमा नआउने भएको छ। प्रिन्टिङ प्रेसका उपकरणहरु नेपाल आए पनि सञ्चालन गर्न चाहिने आवश्यक सामाग्री जोहो गर्न सरकारले ध्यान नदिँदा व्यवसायिकरूपमा चल्न अझै ९ महिनाभन्दा बढी समय लाग्ने देखिएको हो।

प्रेस सञ्चालन गर्न चाहिने जनशक्तिलाई आवश्यक तालिम, नियुक्तिलगायतको काम अघि बढेको छैन। ठेकेदार कम्पनी म्याक्स इन्टरनेसनलले वैशाखमा इजरायलबाट हिँडाएको प्रिन्टिङ प्रेसका उपकरण हप्ता दिन अघि मात्रै नेपाल आइपुगेको थियो। कोरोना महामारीका कारण हवाई तथा स्थलमार्गबाट सामान ल्याउन असहज हुने आकलनबीच प्रिन्टिङ प्रेसका उपकरणहरु असार १ गतेदेखि नेपाल भित्रिन सुरु गरेका थिए।

इजरायलबाट आइपुगेका उपकरणहरु अहिले सुरक्षण मुद्रण केन्द्रका इन्जिनियरहरुले परीक्षण गर्ने काम गरिरहेको केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले बताए। केन्द्रका प्राविधिकहरुले म्याक्स इन्टरनेसनलले झिकाएको मेसिन स्पेसिफिकेसनअनुसार भएरनभएको परीक्षण गरिरहेको उनले बताए।

उपकरण परीक्षणपश्चात प्रेस जडानलगायतका सबै कार्य सकिएपछि अन्तिममा क्यालिब्रेसनका लागि भने नेपाल बाहिरबाट प्राविधिक झिकाउनुपर्ने पौडेलले बताए। क्यालिब्रेसन गर्न मेसिन बिक्रेता कम्पनीकै इन्जिनियर नेपाल आउनुपर्छ। कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान सहज नभइसकेकाले इन्जिनियर तथा प्राविधिकहरु नेपाल आएर असार मसान्त भित्रै काम सकिनेमा शंका उब्जिएको छ। केन्द्रले ती प्राविधिकहरुलाई नेपाल ल्याउन सरकारले सहजीकरण गर्नुपर्ने अवस्था रहन सक्ने जनाएको छ।

असार मसान्त भित्रै प्रेस जडान भएर सञ्चालन योग्य भएपनि व्यवसायिकरूपमा चलाउन अझै ९ महिना लाग्ने पौडेलले बताए । सुरक्षण मुद्रण केन्द्रले झण्डै ७४ करोड रुपैयाँमा उच्च सुरक्षायुक्त डिजिटल प्रिन्ट उत्पादन प्रणालीको आपूर्ति, डेलिभरी, जडान र कमिसनिङको ठेक्का गत चैतमै म्याक्सलाई दिएको थियो।

विदेशी प्रतिस्पर्धालाई बन्द गर्दै सरकारले गत फागुन २ गते स्वदेशी कम्पनीमार्फत् सेक्युरिटी प्रिन्टिङ प्रेस सेटअपको काम अघि बढाएको थियो। सरकार ठूलो सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्न अनिच्छुक देखिएपछि सानै स्तरको प्रेस स्थापना गर्न केन्द्रले खरिद प्रक्रिया अघि बढाएको थियो।

अब स्थापना हुने प्रेसले हुलाक टिकट, शैक्षिक प्रमाणपत्र, अन्तःशुल्कका केही स्टीकरहरु मात्रै छपाइ गर्न सक्ने छ। तर, यी वस्तुहरुको छपाइ गर्न प्रेसलाई अझै ९ महिनाभन्दा बढी लाग्ने देखिएको छ।

नोट र राहदानीसहितका संवेदनशील सामाग्री छपाइ स्वदेशभित्रै गर्ने योजनाबाट सरकार ब्याक भएपछि केन्द्रले कम क्षमताको प्रिन्टिङ प्रेस सञ्चालन गर्ने गरी खरिद प्रक्रिया अघि बढाएको थियो। अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का अस्वीकृत गरेपछि सानै प्रकृतिको प्रिन्टिङ प्रेस खरिद प्रक्रिया जारी छ।

सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि जग्गा, भवनसहितका भौतिक संरचना आइटी पार्क बनेपामा व्यवस्था गरिसकेको छ। केन्द्रले आगामी आवबाट आवश्यक पर्ने कर्मचारीलाई तालिम दिएर सेवा सुरु गर्ने योजना बनाएको छ।