राजनीति

४९ बर्ष कंग्रेसमा नेतृत्व गरेको विरासत कोइराला परिवारमा फेरि फर्केला ?

सभापति देउवालाई हराउन सक्ने ताकत आफुसंग मात्रै रहेको शशांकले दाबी गर्दै आएका छन् ।


काठमाडौँ – नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन आउन अब दुई महिना मात्र बाँकी छ । महाधिवेशन नजिकिएसँगै कांग्रेसमा नेतृत्वका लागि चलखेल सुरु भएको छ । जसमध्ये कोइराला परिवारका तीन सदस्यसमेत नेतृत्वको दाबी गरिरहेका छन् । के १४ औं महाधिवेशनबाट कोइराला परिवारमै नेतृत्व फर्किन सक्ला त ?

सात दशक लामो नेपाली कांग्रेसको राजनीतिमा ४९ वर्ष कोइराला परिवारका सदस्यले नेतृत्व गरे ।कृष्णप्रसाद कोइरालाका पाँच छोराहरुमध्ये विश्वेश्वरप्रसादले २५ वर्ष, मातृकाप्रसादले ४ वर्ष र गिरिजाप्रसादले १४ वर्ष कांग्रेसको नेतृत्व गरे । पटकपटक सभापति भएर कांग्रेसको नेतृत्व गरेका उनीहरु तीनै जनाले प्रधानमन्त्री भएर देशको नेतृत्व गर्ने अवसर पनि पाए ।कृष्णप्रसाद कोइरालाकै सहोदर नभएपनि कोइराला परिवारिक पृष्ठभूमिका सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरेका थिए । यो सबै जोड्दा कोइरालाहरुले ४९ वर्ष कांग्रेसमा शासन गरेको देखिन्छ ।

सुशील कोइरालाको निधनपछि ०७२ फागुनमा सम्पन्न १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका थिए । देउवाले तोडेको कोइरालाहरुको विरासतमा अहिले फेरि शशांक,सुजाता र शेखरले खोस्न खोजिरहेका छन् । त्यसमध्ये पनि पिता बीपीको बलियो विरासत भएका कारण शशांकलाई जब्बर मानिएको छ ।हाल महामन्त्री रहेका उनले १४ औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी घोषणा गरेपछि कोइराला परिवारमै कांग्रेसको नेतृत्व फेरि फर्किएला वा नफर्किएला भन्नेबारे चर्चा र बहस शुरु भएको छ ।

पार्टीभित्र एकातिर सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ भने अर्कोतिर देउवाको उत्तराधिकारी को हुने भन्ने प्रश्नको जवाफ अनुत्तरित बनिरहेको छ । किनकि सभापति देउवाकै विश्वास पात्र र उत्तराधिकारी मानिएका उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबी गरेपछि देउवा र निधि अब फेरि मिलेर जाने देखिएको छैन ।संस्थापनइतर पक्षमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलसहित आधा दर्जन बढी सभापतिमै आकंक्षा देखाएका छन् ।

त्यसमध्ये सभापति देउवालाई हराउन सक्ने ताकत आफुसंग मात्रै रहेको शशांकले दाबी गर्दै आएका छन् । बीपीको विरासतको आँडको हिम्मत देखाइरहेका शशांकलाई भने कोइराला परिवारकै शेखरले चुनौति दिइरहेका छन् । शेखरले युवाहरूलाई गोलबद्ध गरेर कांग्रेसभित्र नेतृत्वमा पुग्ने परम्परालाई तोड्न अग्रसरता लिएपछि युवापंक्ति उनीप्रति आकर्षित छ । तर आफ्नै निर्वाचन क्षेत्रमा हार ब्यहोरेपछि उनलाई कतिपयले काँचो उम्मेद्वारको संज्ञा दिइरहेका छन् । यद्यपी पार्टीकै केही नेताको असहयोगमा शेखरले आफु हारेपनि आफ्नै क्षेत्रबाट प्रदेशका दुबै उम्मेद्वारलाई जिताएका थिए । आम निर्वाचन हारेपछि शेखर धेरैजसो जिल्ला पुगेर कार्यकर्तालाई निराश हुनबाट जोगाएको पनि कतिपय नेताहरु बताउँछन् । तर महामन्त्री शशांकले शेखर केन्द्रीय सदस्यमात्रै नभएकाले यसपटक छोड्नु पर्ने बताउँदै आएका छन् । यसैकारण उनीहरुको अवस्था बीपी र मातृकाको जस्तो बन्ने कतिपयको आँकलन छ ।

बीपी र मातृका नदीका दुई किनारा जस्ता थिए । जुन कहिल्यै पनि मिल्न सक्दैनथे । यी दुईबीच सोच, आचरण, शैली समग्रमा मुलुक र राजनीति बुझ्ने दृष्टिकोणमा व्यापक फरक थियो ।अहिले शशांक र शेखरबीच पनि त्यहीँ अवस्था दोहोरिन थालेको आँकलन भइरहेका छन् । शशांक र शेखर जस्तै कोइराला परिवारकै सुजाता पनि सभापतिको आकंक्षी हुन् । संस्थापनइतर पक्षमै रहेकी उनले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई मिलाउन केही दिन अघि छलफलसमेत चलाएकी थिईन । तर देउवाको हातबाट कोइराला परिवारमा पुनः नेतृत्व फर्काउन महत्वपूर्ण मानिएको १४ औं महाधिवेशनमा तीन सदस्यनै तीनतिरको टकराव रहेकाले ४९ वर्षको राजकाज पुनः फर्किएला भन्नेमा आशंका नै देखिन्छ ।