देश

‘फ्रन्टलाइनर’चित्र मेटाएपछि काठमाडौं महानगरको चौतर्फि आलोचना

महानगरको यो कदमले स्वास्थ्यकर्मीहरुको मनोवल गिराउने काम गरेको भन्दै उनीहरुले मेयर शाक्यलाई तत्काल माफी माग्न आग्रह गरेका छन् ।


काठमाडौँ – कोरोना महामारीविरुद्ध फ्रन्टलाईनमा रहेकाहरुको सम्मानमा बनाईएको पेन्टिङ काठमाडौँ महानगरले मेटाईदिएपछि त्यसको चौतर्फी आलोचना भएको छ । वडाको अनुमती लिएर नै रत्नपार्कस्थित आकाशे पुलको भित्तामा बनाईएको सो चित्र महानगरले भित्ते लेखन गर्न नपाईने बताउँदै मेटाएको हो । तर अन्य स्थानमा वर्षौ अघि कोरिएको चित्र र राजनितिक नारा मेटाउन खासै ध्यान नदिएको महानगरको आखाँ यो चित्रमा यति छिटो किन प¥यो त ?

कोरोनाका कारण निषेधआज्ञा जारी भइरहेको बेला ‘फ्रन्टलाइनर’हरुको सम्मानमा कलाकारहरुले स्वतस्फूर्त रुपमा रत्नपार्कस्थित आकाशेपुलको पर्खालमा बनाएको एउटा प्रेरणामुलक पेन्टिङ काठमाडौं महानगरपालिकाले मेटाईदिएको छ । सो चित्र वडा नम्बर २८ को अनुमती लिएर दुर्जाङ शेर्पासहित चार कलाकार र तीन स्वयं सेवकको टोलीले बनाएको थियो । ६ दिन लगाएर बनाईएको सो पेन्टिङमा महामारीमा काम गर्ने फ्रन्टलाइनरहरु स्वास्थ्यकर्मी, प्रहरी, पाइलट, पत्रकार, शव व्यवस्थापक आदिको चित्र कोरिएको थियो । त्यसमा दुई सन्देश लेखिएका थिए । अंग्रेजीमा लेखिएका ती सन्देशको अर्थ थियो – हामी फेरि उठ्ने छौ र हामी सक्छौं । तर आफै कुनै सिर्जनात्मक काम गर्न नजान्ने महानगरले सो पेन्टिङ एकाएक मेटाईदिएपछि छुद्र व्यवहार गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।

महानगरको यो कदमको विरुद्ध विपक्षी गठबन्धका ५ विद्यार्थी संगठनले आपत्ती जनाएका छन् । महानगरको यो कदमले स्वास्थ्यकर्मीहरुको मनोवल गिराउने काम गरेको भन्दै उनीहरुले मेयर शाक्यलाई तत्काल माफी माग्न आग्रह गरेका छन् । पेन्टिङ मेटाईएपछि कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सोहि भित्तोमा मेयरविरुद्ध नाराहरु लेखेको थियो । जसलाई नगर प्रहरीले मेटाएको छ ।तर महानगरले भने २०५८ सालबाटै महानगरभित्र भित्ते लेखन पूर्ण प्रतिबन्ध लगाईएकोले सो पेन्टिङ पनि मेटाएको बताएको छ ।

विश्वका विभिन्न देशहरुले फ्रन्टलाईनको सम्मानमा विविध खालका कार्यहरु गर्दै आएका छन । तर नेपालमा भने फ्रन्टलाईनरले समयमा तलब र भत्ता समेत पाएका छैनन् । बरु आक्रमणमा पर्ने तथा अपहेलना खपिरहेका उनीहरुको सम्मानमा युवा तथा कलाकारको टोलीले भित्ते पेन्टिङ तयार पारेको थियो । तर महागरले त्यो समेत मेटाएर आफ्नो छुद्रता देखाएको छ । महानगरले २०५८ सालबाटै भित्ते लेखन प्रतिबन्ध गरिएको बताएपनि कस्तो भित्ते लेखन गर्न पाईने ? कस्ता नपाईने ? नियममा प्रष्ट छैन । के कोरोना महामारी विरुद्ध अग्रपङतीमा खटिएकाहरुको सम्मानमा बनाईएको चित्र पनि त्यसैमा पर्छ त्यो पनि प्रष्ट छैन ।

महानगरले भने भित्ते लेखन गलत भएकोले हटाईएको बताउछ । वडा कार्यालयले यस्ता विषयमा अनुमती दिन नसक्ने समेत महानगरको दाबी छ । तर पेन्टिङ कार्यको नेतृत्व गरेका दुर्जाङ आफूहरुले गरेको काम किन चित्त नबुझेको हो ? स्पष्ट पार्न आग्रह गर्छन । यदि कानुनविपरित भए सुरुका दिनमा किन केहि भनिएन ? उनको प्रश्न छ । जबकि सुरुवाती दिनमा महानगरका प्रमुख प्रशाशकीय अधिकृत राजेश्वर ज्ञवाली आफैं प्रशंशा गर्न आएका थिए ।

काठमाडौंमा धेरै तिरका भित्ताहरु राजनीतिक नाराले भरिएका छन् । फोहोर गरिएका छन् । गल्ली गल्लीमा अहिले पनि फोहोरेका डंगुर लागेको छ । टेलिफोन, इन्टरनेट, केबल टिभी आदिका तारले सडक गल्ली हेरि नसक्नु भएका छन् । खोला, नदीनालामा ढल बग्छ । तर त्यता तर्फ ध्यान नदिएको महानगरले फ्रन्टलाईनरको सम्मानमा बनाईएको पेन्टिङ मेटेर आफ्नो बहादुरी देखाएको छ ।