राजनीति

राष्ट्रपति र प्रधानमन्त्री तर्फको बहस सकियो सभामुखको बाँकी


काठमाडौँ – प्रतिनिधि सभा विघटनको मुद्दामा शुक्रबार ११ अधिवक्ताले बहस गरेसँगै राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बहस सकिएको छ। उनीहरुका बहसका लागि १४ घण्टा समय छुट्याइएको थियो ।


महान्यायाधिवक्ता कार्यालयका ११ सरकारी वकिल र २१ जना निजी कानुन व्यवसायीले राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बहस गरेका हुन् । यसअघि निवेदक पक्षका ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

रिटमा सभामुखलाई पनि विपक्षी बनाइएको भएपनि सभामुख संसद विघटनको विपक्षमा उभिएका कारण उनकोतर्फबाट छुट्टै बहस हुने भएको हो। अब सभामुखको तर्फबाट बहस हुनेछ। सभामुखपछि रिट निवेदक पक्षले ३ घण्टा जवाफी बहस गर्नेछन्। त्यसपछि एमिकस क्युरीले २ घण्टामा आफ्नो राय राख्नेछन्।

योसँगै मुद्दाको फैसला आउनेछ। गत जेठ ७ गते प्रधानमन्त्रीमा दाबी गरेका शेरबहादुर देउवा र केपी ओलीलाई दाबी नपुगेको भन्दै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ती गर्न अस्वीकार गरेकी थिइन्। त्यसै मध्यरात संसद विघटन गरेकी थिइन्। आफूहरुले बहुमतसहित दाबी गरेपनि प्रधानमन्त्री नियुक्त नगरिएको भन्दै शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका हुन्।

उक्त रिट सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको थियो।