देश

उडान सुरु भएको पहिलो दिन ५ हजार ६ सय यात्रुले लिए हवाई सेवा


काठमाडौँ – कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान बिहीबार सुरू भएको छ ।

आन्तरिकतर्फ हवाई उडान सुरु भएको पहिलो दिन बिहीबार पाँच हजार ६ सय एक यात्रुले सेवा लिएका छन् । कोरोना महामारीका कारण ५८ दिन बन्द रहेको खुलेको उडानमार्फत बिहीबार दुई हजार चार सय ३० जना काठमाडौँबाट बाहिरिएका छन् भने तीन हजार एक सय ७० जना काठमाडौँ भित्रिएका छन् ।

आन्तरिकतर्फ साबिकको तुलनामा ५० प्रतिशत उडान मात्रै सञ्चालन गरिएको छ । बिहीबार ५१ उडानको तालिका थियो । तर मौसम खराब हुँदा भैरहवा, डोल्पा लगायतका आठ उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । हवाई सेवा कम्पनीहरूले बिहीबारको उडानमा टिकट बुकिङ उत्साहजनक रहेको जनाएका छन् ।

पहिलो दिनमै ८० प्रतिशतभन्दा बढी बुकिङ आएको उनीहरूको भनाइ छ । अन्तर्राष्ट्रितर्फ भने बिहीबार एक कार्गो उडानमात्रै भएको कार्यालयले जनाएको छ। हिमालय एअरलाइन्सले चीनका लागि एउटा कार्गो उडान भर्नेबाहेक यात्रुबाहक उडान नभएको कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रियतर्फ शुक्रबारका लागि ६ वटा उडान तालिका छ । महामारीका कारण घरेलुतर्फका नियमित उडान वैशाख २० देखि ठप्प थिए ।

नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फ दैनिक ६४ उडान हुने गरी अनुमति दिएको छ । प्राधिकरणले यती एअरलाइन्सलाई १५, बुद्ध एअरलाई ३१, श्री एअरलाई सात, सौर्य एअरलाई तीन, नेपाल एयरलाइन्सलाई दुई, तारा एअरलाई दुई, समिट एअरलाई दुई र सीता एयरलाई दुई गरी दैनिक ६४ उडानको अनुमति दिएको छ । हालको उडान तयारी ट्रंक रुट लक्षित छ। सामान्य अवस्थामा आन्तरिकतर्फ आगमन र प्रस्थान दुवै गरी दैनिक तीन सय हाराहारी उडान हुन्थ्यो ।

हाल बन्द रहेको पर्यटक भिसा सेवासमेत शुक्रबार (आज) बाट सञ्चालनमा आउँदै छ । अध्यागमन विभागले यसअघि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको थियो । विभागका अनुसार आजबाट एक सातासम्म नेपालमा रहेका पर्यटकले भिसा सेवा लिन सक्नेछन् ।