समाचार

सशस्त्र प्रहरीमा रिक्त तीन डीआईजी बढुवा सुरु


काठमाडौँ – सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको प्रक्रिया सुरु भएको छ । रिक्त तीन दरबन्दीमा तीन दिनभित्र आवेदन दिन बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सूचना जारी गरेका छन् । बढुवाका संभाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शैक्षिक योग्यतालगायत बढुवाका लागि आवश्यक प्रमाणपत्रसहित मूल्यांकन फारम भरी तीन दिनभित्र गृह मन्त्रालयस्थित बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको छ ।

डीआईजीका लागि नेपाल प्रहरीबाट आएका प्राविधिक सईहरू प्रमुख दाबेदार छन् । उनीहरू सशस्त्रमा प्रवेश गरेसँगै गैरप्राविधिक बनेका थिए ।
डीआईजीका लागि एसएसपीहरू कालिदास धौवजी, कुमार न्यौपाने र विदुर खड्का प्रमुख दाबेदार हुन् । यस्तै भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक पनि डीआईजीका लागि प्रतिस्पर्धी हुन् ।

उनीहरू पनि नेपाल प्रहरीमा प्राविधिक सईका रूपमा सेवा सुरु गरेका थिए । तर पछि उनीहरू सशस्त्र प्रवेश गर्दै गैरप्राविधिक बनेका थिए । नेपाल प्रहरीबाट आएका सईहरू डीआईजी बनिसक्दा पनि सशस्त्रमै भर्ना भएकाहरू भने एसएसपीबाट माथि जान सकेका छैनन् ।

पहिलोपटक निरीक्षकमा भर्ना भएका ९ जना अहिले कायममुकायम एसएसपी भए भने दोस्रो ब्याचका ७५ जना एसपी नै छन्। तेस्रो ब्याचका ९०, चौथो ब्याचका ८० र पाँचौ ब्याचका ८५ जना अहिले डीएसपीमा कार्यरत छन् ।