राजनीति

राष्ट्रिय सभा अधिवेशन आजदेखि


काठमाडौँ – राष्ट्रिय सभाको आठौं अधिवेशन संघीय संसद् भवन बानेश्वरमा बिहीबारबाट सुरु हुँदै छ  । प्रतिनिधिसभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदनको बैठक सुरु हुन लागेको हो । बिहीबारको बैठक अपरान्ह ४ बजेदेखि सुरु हुने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभामा हाल १९ वटा विधेयक विचाराधिन अवस्थामा छन् । यो अधिवेशनमा ती विधेयकका साथै समितिका प्रतिवेदन र संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने नियमावलीको व्यवस्था अनुसार अध्यादेशहरु पेश हुन लागेका हुन् । राष्ट्रिय सभा बैठकमा सहभागी हुने सदस्यहरुको बुधबार एन्टीजेन परीक्षण पनि गरिएको छ ।

संसद भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद सचिवालयका कर्मचारीको पनि एन्टीजेन परिक्षण गरिएको सचिवालयले जनाएको छ ।