देश

सुन पसल लुट्ने थप एक जना पक्राउ


काठमाडौँ – मोरङको सुन्दरहरैंचा नगरपालिकामा सुन पसल लुट्ने प्रयास गरेको समूहका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। विराट चोकस्थित शिव पञ्चायन ज्वेलर्स लुट्ने क्रममा पसल बाहिर बसेर कुरिरहेका गरेका ३३ वर्षीय आशिष चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका चौधरी पूर्वमाओवादी रहेका खुल्न आएको छ । सुनसरीको गढी गाँउपालिकाका घर भएका चौधरीलाई झुम्काबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए। यसअघि प्रहरीले सुन पसल लुट्ने प्रयास गर्दै लुटपाटको आतंक मच्चाउने समूहका ६ जनालाई पक्राउ गरेको थियो। प्रहरी प्रमुख जिसीका अनुसार केहीदिन सो घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको र फरार अवस्थामा रहेका समूहका थप एकजनालाई पक्राउ गरिएको हो।

पसल लुट्ने क्रममा हतियारसहित दुई जनाले पसलभित्र प्रवेश गरेको र चौधरीले भने पसल बाहिरको अवस्थाका लागि बाहिर नै बसेको प्रहरी प्रमुख जिसीको भनाइ छ। यद्यपि त्यसक्रममा उनले कम्मरबाट पेस्तोल निकालेर घटनास्थलमा भेला भएका स्थानीयलाई ताक्ने एवं तर्साउने काम गरेको उनले जानकारी दिए।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार अत्याधुनिक एवं स्वचालित हतियारको प्रयोगसँगै लुटपाट आतंक मच्चाउने क्रममा समूहले गत साउन १ गते दिनदहाडै खगेन्द्र थापाले सञ्चालन गरेको सुन पसलमा लुटपाटको असफल प्रयास गरेका थिए।

प्रवक्ता श्रेष्ठले यसअघि नै पक्राउ परेकाबाट एसएमजी र पेस्तोलसहितका हतियार एवं गोली बरामद भएको थियो ।

हाल प्रहरीले पक्राउ परेकाविरुद्ध हातहतियार खरखजना, डाँका, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित चारवटा कसूरमा मुद्दा चलाउन म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान गरिरहेको छ।