राजनीति

“श्रीपेच लगाउने शीरमा हेल्मेट सुहाउँदैन” : पारस समर्थक


काठमाडौँ – पूर्वयुवराज पारस शाहको समर्थनमा राजावादीहरुले सडक प्रदर्शन शुरु गरेका छन् । शुक्रबार साँझ चक्रपथको नारायणगोपाल चोकमा हेल्मेट नलगाई मोटरसाइकल चलाएको कारण पारसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले सम्झाई बुझाई गर्दासमेत औंला ठड्याउँदै तथानाम भनेका पारसलाई एक छिनपछि स्थानीय युवाहरुले छुटाएर घर पठाइदिएका थिए । त्यसै घटनालाई लिएर आक्रोशित राजावादीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

पारसलाई सोधपुछ गरेकोमा असन्तुष्ट रहेका उनीहरुले ट्राफिक प्रहरीविरुद्ध महाराजगञ्जस्थित भाटभटेनी अगाडि टायर बालेर विरोध जनाएका छन् । विरोध कार्यक्रम सम्पूर्ण राजावादी संगठनको आयोजनामा शाही शक्ति नेपालले गरेको हो ।

विरोध प्रदर्शनमा शाही शक्तिका अध्यक्ष मुनिन्द्रराज भण्डारी,सतिश राजावादी,सागर राजावादी,सुशील राजावादीलगायत ५०र६० जना सहभागी थिए । राजावादीहरुले श्रीपेच लगाउने शीरमा हेल्मेट सुहाउँदैन भन्दै विभिन्न ठाउँमा उनको समर्थनमा नारा,जुलुससमेत गरेका छन् ।