राजनीति

बीच सडकमै प्रहरीसँग पूर्व युवराज पारस शाहको ‘झगडा’


काठमाडौँ – पूर्व युवराज पारस शाहले बीच सडकमै ट्राफिक प्रहरीसँग ‘झगडा’ गरेका छन् । हेल्मेट प्रयोग नगरी मोटरसाइकल चलाइरहेका बेला ट्राफिक प्रहरीले रोकेपछि उनी झगडामै उत्रिएका हुन् ।

शुक्रबार साँझ काठमाडौँको महाराजगञ्ज चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग उनी वादविवादमा उत्रिएका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा स्रोतका अनुसार हेल्मेट प्रयोग नगरी केही व्यक्तिले मोटरसाइकल चलाइरहेको देखेपछि ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई रोकेका थिए ।

हेल्मेट नलगाइ मोटरसाइकल चलाउनेमध्येका धेरैले प्रहरीसँग गल्ती स्वीकार गरेपनि पारस शाह भने उल्टै वादविवादमा उत्रिएका ट्राफिक महाशाखाका एक प्रहरीको भनाइ छ ।

पूर्व युवराज पारसले प्रहरीसँग झगडा गरिरहेको विषयमा केही प्रत्यक्षदर्शी (सर्वसाधारण) ले भिडियो समेत खिचेका छन् । जसमा प्रहरीले उनलाई प्रहरी कार्यालय जान भनिरहेको सुनिन्छ। तर, पारस भने ‘जान्न, म जान्न, के गर्छस्र’ भनिरहेका सुनिन्छ ।

त्यहाँ रहेका प्रहरी कर्मचारीले सञ्चार सेटमार्फत् तालुक निकायमा खबर गर्दै गाडि पठाउन माग गरिरहेका भिडियोमा सुनिन्छ । त्यसबीचमा पारससँगै आएका उनका समर्थकले हो–हल्ला गरेको पनि भिडियोमा देखिन्छ ।

पारसलाई चौकी नल्याइ बाटोमै छोड्नु भन्ने आदेशपछि उनलाई कुनै कारबाही नगरी छाडिएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका एक कर्मचारीले जानकारी दिए । ‘बाटोमा सर्वसाधारणको भिड पनि बढ्ने र अनावश्यक तनाव सिर्जना हुने भन्दै माथि (महानगरीय प्रहरी परिसर काठमाडौँ’बाटै छाड्नु भन्ने आदेश आयो,’ महाराजगञ्ज बृत्तका ती प्रहरी कर्मचारीले भने ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालले भने गल्ती स्वीकार गरी माफी मागेपछि पारस र उनका समर्थकलाई छाडिएको बताए ।

‘उनीहरुले ट्राफिक नियम उल्लंघन गरेको, हेल्मेट नलगाएको देखियो । ‘एआईजी पालले भने, ‘ट्राफिक नियम उल्ल‌घन गरेका कारण पछि जरिवाना गर्ने गरी आज चाहिँ यस्तो गल्ती पछि नदोहोर्‍याउने भनेर छाडियो ।’