समाचार

वन्यजन्तु फोटोग्राफीमा रमाउदैँ चुङ्बा शेर्पा (भिडियोसहित)

३ वर्षको अवधिमै अब्बल फोटोग्राफर


काठमाडौँ – कोरोना प्रभावका कारण लामो समय थलिएको नेपालको पर्यटन क्षेत्र अझै तंग्रिएको छैन । विदेशी पर्यटक ठप्पप्रायः अवस्था रहेपनि नेपाली पर्यटक भने घुमफीरमा निस्कीन थालेका छन् । तर सोलुखुम्बुको चौरीखर्कमा २०१७ सालमा जन्मेका चुङ्वा शेर्पाले जीवनमा अनेकौं काम गरी ५८ वर्ष पुगेपछि वन्यजन्तु सम्बन्धी फोटोग्राफी सुरु गरेका छन् ।

अहिले शेर्पाको काम नै नेपालका विभिन्न निकुन्जमा गएर कयौं दिन बिताएर जनावर र चरा चुरुङ्गीहरुको फोटो खिच्नु हो । व्यक्तिगतरुपमा कयौं लाख रुपैँया लगानी गरी फोटोग्राफीसम्बन्धी उपकरणहरु जोड्दै शेर्पाले अनलाइन कक्षामार्फत यस्तो फोटोग्राफीमा आफ्नो ज्ञान बढाउँदै लगेका हुन् । जाडोयाम सकिएर स्प्रिङ सिजन सुरु भएसंगै नेपालीहरु लुक्लाहुँदै नाम्चे, खुम्जुङसम्म जान थालेका छन् । आन्तरिक पर्यटकलाई खुम्बुमा आकर्षिक गराउने यो नै सुनौलो समय भएको खुम्बुको पर्यटन व्यवसायीहरु बताउँछन् ।

तर चुङ्वा गत ३ वर्षको अवधिमा फोटो खिच्नका लागि नै चितवन राष्ट्रिय निकुन्जमा २७ चोटी पुगिसकेका छन् । नेपालका अन्य राष्ट्रिय निकुन्जका साथै आरक्षहरुमा समेत बरोबर गएर दुर्लभ बन्य जन्तुहरुको फोटो खिच्न सफल भएका चुङवाले यसरी फोटो खिच्नेक्रममा जंगल तथा हिमाल तथा पहाडका विकट स्थानहरुमा कयौं रात बिताएका छन् ।

विश्वबाट लोप हुन लागेको बाघ, हिम चितुवा, कस्तुरी, मृग, घोरललगायत विभिन्न जनावरका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चराहरु आफ्नो फ्रेममा पार्न सफल भएका छन् । यसरी फोटो खिच्न जाँदा उनले जोखिम मोल्दै आएका छन् । कयौं पटक बाघसँग जम्का भेट भएको छ । जंगली हात्तीको अगाडि पर्दा पनि उनी बाँच्न सफल भएका छन् ।

त्यसैगरी कयौं अनुसन्धानकर्ताहरुले उनीसँग बन्यजन्तु र चराका फोटो अनुसन्धानका प्रयोजनका लागि माग्ने गरेका छन् । तर चुङ्वाको उद्देश्य पैसा कमाउनु होइन । उनले त्यस्ता फोटो जोसुकैलाई निशुल्क उपलब्ध गराउने गरेका छन् । उनले जंगलमा फोटो खिच्न खरिद गरेको ल्याण्डरोभर गाडीलाई बन्यजन्तु विभागले नेपालका जुनसुकै राष्ट्रिय निकुन्ज र आरक्षभित्र लान अनुमति पत्र प्रदान गरेर सघाएको छ ।
२०१७ सालमा सोलुखुम्बुको चौरीखर्कमा जन्मेका चुङवा शेर्पा २०४६ सालमा नेपालमा बहुदलीय व्यवस्थाको पुनर्थापना हुँदा तत्कालीन चौरीखर्क गाँउ पञ्चायतका अन्तिम प्रधानपञ्च थिए ।