राजनीति

लुम्बिनीका ३ मन्त्री सांसदबाट पदमुक्त


काठमाडौँ – लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् । सांसदबाट पदमुक्त भएका तीनै जना मुख्यमन्त्री शंकर पोखरले नेतृत्वको प्रदेश सरकारमा मन्त्री छन् ।
जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए ।

तर सर्वोच्च अदालतले ३ जेठमा आफ्ने पक्षमा आदेश दिएपछि उनीहरु फेरि प्रदेशसभामा फर्किए । १८ असारमा रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा लागिन् । तीन जना महन्थ ठाकुर पक्षमा खुले ।

११ साउनमा यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएलगतै लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय गर्‍यो । पार्टीको निर्णय विपरित सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको जसपाको आरोप छ ।