देश

एसएसबीको ज्यादतीका कारण नेपाली युवाको मृत्यु,तर्दै गरेको तुईन काटिदिदा महाकालीमा बेपत्ता


काठमाडौँ – नेपालको सुदूरपश्चिमी जिल्ला दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादतीले एक नेपाली युवाले ज्यान गुमाएका छन् । ३५ वर्षीय जयसिंह धामीले तर्दै गरेको तुइन एसएसबीले काटेपछि उनी महाकाली नदीमा बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका छन्।

दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा सदरमुकाम खलंगाबाट सामान लिनका लागि ६ जना स्थानीय भारतको बाटो आउँदै थिए। पाँच जना तुइनबाट भारत तरेका र जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सिद्धराज जोशीले एसएसबीले तुइन काट्दा एक जना महाकालीमा बेपत्ता भएको खबर आएको बताए। “तुइन काट्दा एक जना बेपत्ता भए भन्ने खबर आएको छ। अहिले हामी छलफलमा छौं, के भएको हो भन्ने बुझ्दै छौं,” प्रजिअ जोशीले भने।

ब्यासबाट नेपाल भएर सदरमुकाम खलंगा आउन सहज बाटो छैन। त्यसैले ब्यासका बासिन्दा महाकालीमा तुइन तरेर भारतको बाटो भएर सदरमुकाम आउने गरेका छन्। यस्तै घटनाहरु भारतसँग सीमा जोडिएका नेपाली जिल्लाबासीहरुले कयौं वर्षदेखि भोक्दै आईरहेका छन् । उनीहरु दैनिक उपभोग्य सामान लिन भारतीय बजार पुग्नु पर्ने र भारतीय मार्गको प्रयोग गर्नु पर्ने बाध्यताका कारण एसएसबीको ज्यादती सहन विवश छन् ।
केन्द्रमा बस्ने नेता र त्यही क्षेत्रबाट निर्वाचन जितेर सांसद बनेकाहरु यी सबै घटनाबारे जानकार हुँदा पनि पुल निर्माण जस्ता कार्यमा चासो नदेखाउदा त्यहाँका बासीले यसरी ज्यान गुमाउने बाध्य छन् । सरकारको यो किसिमको व्यवहारले सीमा क्षेत्रमा बस्ने नेपालीहरु गैरनागरिक भएको महसुस गरिरहेका छन् ।