राजनीति

ठाकुरले दायर गरेको रिटमाथि सुनुवाइ सुरु


काठमाडौँ – पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोगले एक पक्षीय रुपमा निर्णय गरेको भन्दै त्यसविरुद्ध जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । आयोगको निर्णयविरुद्ध ठाकुरले साउन ८ गते दायर गरेको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको हो ।

आयोगले ११ गते कार्यकारिणी समितिका सदस्यहरुलाई उपस्थित गराएर गणना गरी आधिकारिकता दिने निर्णय गरेका थियो । त्यसै विरुद्ध ठाकुर अदालत पुगेका हुन् । निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्य कायम गर्ने विषयमा ठाकुरले दायर गरेको रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले साउन १० गते दुबै पक्ष बोलाउने निर्णय गरी आजका लागि पेशी तोकेको थियो ।

निर्वाचन आयोगले जसपाको अधिकारिकता सम्बन्धी विवादमा निर्णय गरी उपेन्द्र यादव समूहलाई आधिकारिकता प्रदान गरिसकेको छ । आयोगले उपस्थित गराएर हेडकाउण्ट गर्दा अध्यक्ष यादवको पक्षमा ३४, अध्यक्ष ठाकुरको पक्षमा १६ र एक सदस्य तटस्थ बसेका थिए ।