राजनीति

सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्ने


काठमाडौँ – नेपाली सेनाले बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल)को सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ। सेनाको मेकानाइज्ड युनिटहरूबाट सकल दर्जाहरूको ड्राइभिङ सीप अभिवृद्धि गर्न सडकमा बख्तरबन्दको अभ्यास गराउन लागेको नेपाली सेनाको मुख्यालय जंगी अड्डाले जनाएको छ।

आर्मोर्ड पर्सनल क्यारियर र माइन प्रोटेक्टिभ गाडीहरूको अभ्यास हुन लागेको हो। अभ्यासका लागि सेनाले स्थानीय प्रशासन र प्रहरीसँग समन्वय गर्ने बताएको छ। बख्तरबन्दको अभ्यास हुने स्थान र मिति तालिका सेनाले सार्वजनिक गरेको छ। काठमाडौंको सितापाइलामा तैनाथ गणले भदौ महिनादेखि चैतसम्म बख्तरबन्द गाडीको अभ्यास गर्न लागेको हो।

सो गणले भदौ १४ गते, असोज ११, कात्तिक १५, मंसिर १३, पुस १२, माघ १० गते, फागुन २३ र चैत १४ गते काठमाडौंमा बख्तरबन्दको अभ्यास गर्नेछ।बख्तरबन्द ब्यारेकबाट स्वयम्भु–बालाजु–चक्रपथ–चाबहिल–गौशाला–कोटेश्वर–सातदोबाटो–कलंकी हुँदै ब्यारेक फिर्ता हुनेछ।

धनगढीको बोराडाँडी ब्यारेकले भने बिहीबार नै बख्तरबन्दको अभ्यास गर्नेछ भने अरू दिनको तालिका पनि सार्वजनिक गरेको छ। त्यस्तै, इटहरीको ब्यारेकले पनि अभ्यास गर्न लागेको हो।