राजनीति

मन्त्रिपरिषद् विस्तारका लागि कांग्रेस घनिभूत छलफलमा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सम्हालेको एक महिना हुन लाग्दा पनि मन्त्रिपरिषद नै घोषणा गर्न नसकेपछि टिका टिप्प्पणी बढ्न थालेको छ ।

चार मन्त्री र पछि थपिएका स्वास्थ्य राज्यमन्त्रीसहित मन्त्रिपरिषदमा जम्मा ६ जना छन् । यसले वर्तमानको चुनौती चिर्न सकेको छैन भने गठबन्धन दलका नेताहरुबीच क–कस्लाई सरकारमा पठाउने भन्ने अन्यौल पनि कायमै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भने सकभर आजै मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहनुभएको उहाँ निकट स्रोतले जनाएको छ । तर आफ्नो पार्टी कांग्रेससहित गठबन्धन दलका अरु नेताले पनि सरकारमा जाने मन्त्रीको नाम टुंग्याउन सकेका छैनन् । यसले मन्मिण्डल विस्तारमा असर परेको हो ।

यसैबीच, नेपाली कांग्रेसमा तीन पक्ष, संस्थापन पौडेल र सिटौलाले आ–आफ्ना मान्छे सरकारमा पठाउन तयारी गरेका छन् । तर आकांक्षी बढ्दा नेताहरुलाई मिलाउन कठिन भइरहेको बताइएको छ ।

यस पटक मन्त्री हुनेको दौडमा देउवा पक्षबाट नेताहरु डा। नारायण खड्का, पुष्पा भुसाल, डा.डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्माको चर्चा चलिरहेको छ । पौडेल पक्षबाबाट भने सुजाता कोइराला, दिलेन्द्र बडू, मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीलगायत छन् ।

सिटौला पक्षबाट उमाकान्त चौधरी र भीमसेनदास प्रधानको नाम चर्चामा छ । पार्टीभित्र र बाहिरबाट पनि मन्त्री बनाउन र स्वास्थ्य मन्त्रालय नै दिन आग्रह गरिएका नेता गगन थापालाई भने रोक्न केही व्यक्ति र समूह लागेको बताइएको छ ।