राजनीति

गठबन्धन बैठक बसेन, देउवा प्रचण्ड भेटवार्ता


काठमाडौँ – बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा करिब एक घण्ट भेटवार्ता भएको छ ।

सो भेटमा मन्त्रिपरिषद् विस्तार र विभिन्न राजनीतिक विषयमा छलफल भएको छ । बिहान सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । भेटवार्ता सकेर प्रधानमन्त्री देउवा सिंहदरबार जानुभएको छ । गठबन्धनको बैठक भने प्रभावित भएको छ ।

बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने र मन्त्रीको टुंगो लगाउने जिम्मा शीर्ष नेताहरूलाई दिएको छ । जसपाले मन्त्रीबारे निर्णय गरिनसकेको र एमालेको माधव नेपाल पक्षले सरकारमा सहभागिताबारे निर्णय गर्न बाँकी रहेकाले गठबन्धन बैठक प्रभावित भएको कांग्रेसका एक नेताले बताए ।

बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा तत्काल मन्त्रिमण्डल विस्तार गर्नेबारे छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए । जवाफमा प्रचण्डले आज देउवालाई आफ्नो पार्टीबाट मन्त्री बनाउन लागिएका नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बुझिएको छ । यसअघि देउवा नेतृत्वको सरकारमा माओवादीका जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा गैसकेका छन् ।

देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । देउवा तत्काल आफ्नो नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेर पूर्णता दिने प्रयासमा रहेपनि गठबन्धनभित्रका दलहरूको आन्तरिक किचलोका कारण ढिलाई हुदै आएको छ । अहिलेसम्म माओवादीका दुईसहित काँग्रेसका बालकृष्ण खाँड,ज्ञानेन्द्र कार्की र उमेश श्रेष्ठले मन्त्रीको जिम्मेवारी पाएका छन् ।