राजनीति

गठबन्धनको बैठक बालुवाटारमा जारी, नेपाल भने अनुपस्थित


काठमाडौँ – मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । गठबनन्धनमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा रहेका छन् । जसपाले आधिकारिकता टुंगो लागेपछि सरकारमा जाने बताएकाले आज गठबन्धनको बैठक बोलाइएको हो ।

बैठकमा नेपाली काङ्ग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला सहभागी रहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , प्रवक्ता नारायण काजी श्रेष्ठ ,जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई,अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,उपाध्यक्ष दुर्गा पौडेलले उपस्थिति जनाएका छन् । गठबन्धनको बैठकमा एमाले माधवकुमार नेपाल भने अनुपस्थित छन् । नेपाल समूहबाट बैठकमा डा.विजय पौडेलले सहभागिता जनाएका छन् ।

जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ । गठबन्धनका अरु दलबीच मन्त्रालयको भागबण्डा मिलाउने र आ–आफ्नो दलबाट मन्त्री छानेर तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिएको छ । एमालेको नेपाल पक्षले सरकारमा जाने–नजाने बारे निर्णय गरिसकेको छैन । कांग्रेसले ९, माओवादी केन्द्रले ७, जसपा र माधव समूहले ४–४ मन्त्रालय लिने गरी प्रारम्भिक मस्यौदा तयार भएको नेताहरूले बताएका छन् ।