राजनीति

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिलाई पूर्णता दिने भएको छ । महन्थ ठाकुर पक्षमा उभिएका १६ जनाको स्थानमा नयाँ सदस्य चयन गर्न लागिएको केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले बताउनुभयो ।

पार्टी कार्यालय बालकुमारीमा दिउँसो बस्ने कार्यकारिणी समिति बैठकले आवश्यक निर्णय लिने राईले बताउनुभयो । ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये निर्वाचन आयोगले आधिकरिता विवाद टुंगो लगाउँदा ३४ जना उपेन्द्र यादव र १६ जना ठाकुर पक्षमा उभिएका थिए । पदाधिकारीबारे पनि बैठकले निर्णय लिने उहाँले बताउनुभयो ।

सरकारमा सहभागी हुने नेताहरुको विषयमा पनि बैठकमा छलफल हुनेछ । यसअघि मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको विधान पारित गरेको थियो । जसपाले संसदीय दलको नेता चयनको प्रक्रिया समेत अघि बढाइसकेको छ ।