राजनीति

क्रियाशिल सदस्य विवादबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठक बुधबार बिहान ११ बजेपछि देउवा निवास बुढानीलकण्ठमा बस्ने पार्टी कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुख्यसचिव पौडेलका अनुसार सभापति देउवाले क्रियाशील सदस्यता छानविन समितिले मंगलबार बुझाएको प्रतिवेदन र क्रियाशील सदस्य विवादबारे छलफल गर्न बैठक बोलाएको हो । बारा, सप्तरी, धनुषा र सर्लाहीको नयाँ सदस्य वितरणको विवाद शीर्ष नेताहरुकै बीचबाट सुल्झाउन आग्रह गर्दै समितिले प्रतिवेदन बुझाएको छ । समितिले देशभरका गरी कुल ८ लाख ५२ हजार क्रियाशील सदस्यको नामावाली तयार पारेर सुझावसहितको प्रतिवेदन सभापति देउवालाई बुझाएको थियो ।

समिति सदस्य कल्याण गुरुङले नै प्रतिवेदनमा असहमति जनाएपछि विवाद बढ्न सक्ने अनुमान गरिएको छ । उक्त समितिले बुझाएको प्रतिवेदन र विवाद भएका स्थानको छलफल गर्न सभापति देउवाले बैठक तय गरेपछि प्रतिवेदनबारे धारणा बनाउन शीर्ष नेताहरु मंगलबारदेखि आन्तरिक छलफलमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित संस्थापनइतर समूहले पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेको थियो ।