राजनीति

हत्यारा र भ्रष्टाचारी बचाउन सरकार लागेको एमाले सांसद गिरीको आरोप


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद पदम गिरीले कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारी र अपराधीहरूले छुट्उन थालेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद गिरीले देउवा प्रधानमन्त्रीको कुर्सीमा बस्नेबित्तिकै करोडौँ भ्रष्टाचारको आरोपमा मुछिएका कांग्रेस उपसभापति विजय गच्छदार केही लाख धरौटीमा छुटेको बताउँदै अब कयौँ मानिसको हत्या अभियोग लागेका मोहम्मद अफताब आलम पनि छुट्ने अवस्था देखिएको उल्लेख गरे ।

‘बहुदलीय व्यवस्थामा देउवा नेतृत्वको निर्दलीय सरकार आउनासाथ बालुवाटारस्थित ललिता निवासको को जग्गा बेचेर खाने विजय गच्छदार सामान्य धरौटी तिरेर छुटिसकेका छन्’, उनले भने, ‘अब कयौँ मजदुरहरुलाई इँटा भट्टामा पोलेर ज्यान लिने अफताब आलम पनि छुटेर यही ठाउँमा आउने त होइनन् ?

गिरीले हत्यारा र भ्रष्टाचारीको बचाउमा यो सरकार लागेको पनि आरोप लगाए । ‘सरकारले अपराधी र भ्रष्टाचारीलाई जोगाउने प्रवृतिलाई प्रश्रय दिने डरले जनता चिन्तित छन्,’ उनले भने, ‘देउवा नेतृत्वको सरकार प्रतिशोधको भावनाले अघि बढ्ने संकेत देखिएको छ । वृद्धभत्ता पनि कटौती गर्ने चिन्ताले जेष्ठ नागरिकलाई पिरोलिरहेको छ ।’