राजनीति

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै



काठमाडौँ – आज बिहान बूढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा बिहान ९ बजे पदाधिकारी बैठक बस्न लागेको हो। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले देउवाको निजी निवासमा बैठक राखिएको छ।

आजको बैठक महाधिवेशन केन्द्रित रहनेछ। कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन। साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित छ। आज छलफलको एजेन्डा अब वडा अधिवेशन कहिले गर्ने भन्नेबारे बताइएको छ।

यस्तै रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ। यसअघिको पदाधिकारी बैठकमा आजसम्म काम गरिसक्ने र प्रतिवेदन बुझाउने लेखकले बताएका थिए। उक्त समितिमा पाँच हजार उजुरी परेका थिए। बारा र सप्तरी जिल्लाको क्रियाशील फाइल नै उक्त समितिले हेरेको छैन। यस्तै देशभरका करिब १२५ वडाभित्र अझै क्रियाशील विवाद छ।

क्रियाशील विवादले महाधिवेशनलाई नै प्रभावित बनाउने देखिएको छ। कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ। तर महाधिवेशनका कार्यतालिका प्रभावित बनेका छन्।