खेलकुद

ओलम्पिक खेल्न गएका जुडो र सुटिङका खेलाडीसहित ७ जना नेपाल फर्कँदै


काठमाडौँ – ओलम्पिक खेल्न जापान पुगेका जुडो र सुटिङका दुई खेलाडीसहित ७ जनाको नेपाली टोली स्वदेश फर्कँदैछ । गत शुक्रबार देखि जापानमा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिकमा नेपालबाट ४ खेलमा ५ खेलाडी सहभागी भएका थिए । जसमध्ये जुडो र सुटिङको प्रतिस्पर्धा सकिएको छ । नेपालबाट जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले प्रतिस्पर्धा गरेका थिए ।

जुडो र सुटिङको खेलाडी प्रशिक्षक र म्यानेजर गरी ७ जना नेपाल फर्कन लागेका हुन् । जसमा दुई खेलाडीसंगै जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ सुटिङ प्रशिक्षक असिम यादव र जुडो म्यानेजर तुलसा थापा र सुनीलकुमार श्रेष्ठ तथा सुटिङ खेलको म्यानेजर प्रकाश शमशेर राणा नेपाल फर्कदैछन् । नेपाली टोली जापानी समय अनुसार सोमबार राति १० बजेको फ्लाइटमा नेपालका लागि प्रस्थान गर्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

सुटिङको महिला १० मिटर एअर राइफलमा उनले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेपनि ५० जनामा ४६ औं भइन् । यस्तै जुडो खेलाडी सोनियाले महिला ४८ केजीमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी रसियन खेलाडी इरिनासंग पहलो चरणमै १ मिनेट १६ सेकेण्डमै पराजित भइन् । पौडी खेलाडी एलेक्स शाहले मंगलबार र गौरिका सिंहले बुधबार प्रतिस्पर्धा गर्नेछन् । यस्तै एथ्लेटिक्सकी सरस्वती चौधरीले शुक्रबार महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।