राजनीति

आज हामी अल्पमतमा रहे पनि भविष्यमा बहुमतमा पुग्नेछौं : सुरेन्द्र झा


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका नेता डा. सुरेन्द्र झाले आज आफूहरु अल्पमतमा रहे पनि भविष्यमा बहुमतमा पुग्ने बताउनुभएको छ । उहाँले अहिले उपेन्द्र यादव पक्षमा गएका नेताहरु पनि पछि ठाकुर पक्षमा फर्किने दाबी गर्नुभयो ।

निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले भन्नुभयो, ‘मलाई के थाहा छ भने मधेस, थरुहट, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम र पिछडिएको वर्गको नेतृत्व यो पक्षले गर्छ । आज हामी अल्पमतमा छौं, भोलि हामी बहुमतमा हुन्छौं । जो साथीहरु आज जानु भएको छ, भोलि हामीसँगै आउनुहुन्छ भन्ने विश्वस्त छौं ।’

त्यस्तै उहाँले अहिले उपेन्द्र यादवले चालेको कदमलाई मधेस र इतिहासले मूल्यांकन गर्ने पनि बताउनुभयो । साथै उहाँले निर्वाचन आयोगको प्रक्रियाबाट जे परिणाम आउँछ त्यसलाई स्वीकार्ने बताउनुभयो ।