देश

यी नदीहरुमा पानीको बहाव बढ्ने पूर्वानुमान, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाको अनुरोध


काठमाडौँ – आज नेपालका प्राय सबै नदीहरुमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । विशेष गरी कर्णाली र यसका सहायक नदीहरुमा पानीको बहाव उल्लेख्य मात्रामा बढ्ने छ ।

कोसी, नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा पनि बहाव बढ्नेछ । विशेषगरी सुनकोसी, तामाकोसी, दूधकोशी, अरुण, तमोर, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी कालीगण्डकीमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

कन्काई र यसका सहायक नदीहरूमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

संखुवासभा, भोजपुर, धनकुटा, इलाम, पाँचथर, मकवानपुर, धादिङ, नुवाकोट, मनाङ, कपिलवस्तु, रुकुम पश्चिम, जाजरकोट, कैलाली र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।