काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना संक्रमणदर दिनप्रतिदिन बढ्दै गए पनि सुरक्षा सतर्कता अपनाउने सवालमा सर्वसाधारण सतर्क देखिँदैनन् । करिव तीन महिना लामो निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढ्दा स्थिति थप भयावह हुने देखिन्छ । पछिल्लो समय अस्पतालमा सक्रमितको चाप बढ्न थालेपनि नियन्त्रणतर्फ भने न त सरकारको ध्यान गएको छ न त सर्वसाधारणका नै ।
काठमाडौँ उपत्यकामा फेरि कोरोना संक्रमणदरको ग्राफ निरन्तर उकालो लागेको छ । बैशाख १६ देखि लागेको निषेधाज्ञा खुकुलो भएसँगै व्यापार–व्यवसाय सञ्चालनमा आएका छन् । सडकमा निजी र सार्वजनिक यातायात निर्वाध चल्न थालेका छन् । मानिसहरुको आवागमन पनि बढेको छ ।
प्रमुख राजनीतिक दलकै नेता–कार्यकर्ताले जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको देखिँदैन । भिडभाड नगर्न, धेरै मानिस भेला नहुन भनिए पनि विभिन्न धर्ना, जुलुसमा पनि स्वास्थ्य मापदण्डको उल्लंघन बढ्दो छ । पछिल्लो एक सातामा मात्रै काठमाडौं उपत्यकामा करिब ५ हजार संक्रमित थपिएका छन् । जुन दैनिक सात सय भन्दा माथिको संख्या हो ।
काठमाडौँ उपत्यका त्यसैपनि संक्रमणको उच्च जोखिममा रहेको छ । गत साउन १ गते उपत्यकामा सक्रमित संख्या ५४१ पुगेकामा साउन ७ गते ७५१ पुगेको थियो । ८ गते ६ सय १३ जना ९ गते ६सय १५ संक्रमित भएका थिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले निषेधाज्ञा खुकुलो भएसँगै मानिसले जनस्वास्थ्यमा मापदण्ड प्रयोग नगर्दा जोखिम रहको बताउँछन । उनले पछिल्लो समय अस्पतालमा उपचाररत संक्रमितको संख्या पनि बढेको बताए ।
संक्रमणदरमा कमी नआएपछि सरकारले तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ । तेस्रो लहर आए फेरि पनि लकडाउन गर्नुपर्ने स्थिति आउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड उलंघन नगर्न आग्रह गरि रहेको छ ।
संक्रमण तीव्र बनिरहेको सन्दर्भमा सरकार र सर्वसाधारणको लापरबाहीले स्थिति भयावह नहोला भन्न सकिँदैन । त्यसैले कोरोना संक्रमणको दर कम गर्न सरकारले तोकेका मापदण्ड तथा आदेश पूर्ण रुपमा पालना गर्नु अपरिहार्य छ ।
प्रतिक्रिया