काठमाडौँ – काठमाडौँ उपत्यकामा आज राति १२ बजे पछि सकिने निषेधाज्ञा फेरि १० दिनका लागि थप गरिने तयारी गरिदैँ छ ।
निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न आज उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच अपराह्न चार बजे बैठक बस्दै छ । कोरोना संक्रमण फेरी बढ्न थालेपछि स्थानीय प्रशासन कार्यालयले निषेधाज्ञा थप गर्ने भएको हो । बैठक बोलाइएको र सम्भवतः निषेधाज्ञालाई थप गरेर ल्याजाने काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
अहिलेको स्थिति हेर्ने हो भने निषेधाज्ञा नाममा मात्रै सीमित रहेको देखिएको छ जसका कारण कोरोना संक्रमितको संख्या पनि बढेको छ । काठमाडौँ उपत्यकाभित्र पछिल्लो समय दैनिक ३ सयसम्म झरेको कोरोना संक्रमितिको सङ्ख्या अहिले बढेर ७ सय नाघेको छ। सार्वजनिक सवारी, पसल लगायतका क्षेत्र खुल्ला गर्दा पुनः कोरोना संक्रमण बढेको सम्बन्धित निकायका विज्ञहरूले सिडिओलाई जानकारी दिएका छन्। त्यसैले निषेधाज्ञा थप केही क्षेत्रलाई कडाइ गरेर ल्यौजाने भन्ने विषयमा पनि छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए।
होटेल तथा रेष्टुरेष्टमा टेकअवे सेवा दिन भनेपछि त्यस्तो नभएकाले यस क्षेत्रलाई थप कडाइका साथ अनुगमन गर्ने भन्ने विषयमा तयारी भइरहेको छ। शनिबारबाट लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीलाई काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्न खुल्ला गरिएको छ। कोरोना नियन्त्रणका लागि भनेर गत वैशाख १६ देखि सुरु निषेधाज्ञाको अवधि थप्दै थप्दै आज साउन १० गतेसम्म पुर्याइएको हो। निषेधाज्ञा थप्ने क्रममा क्रमशः खुुकुलो पनि बनाउँदै लगिएको छ।
प्रतिक्रिया