देश

तीन वर्ष बित्दा पनि निर्मलाको अपराधि पत्ता लागेन


काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुगेको छ । निर्मलाको बलत्कारपछि हत्या भएको तीन वर्ष पुग्दा पनि नेपाल प्रहरीले भने अहिले पनि आफूहरु अनुसन्धानकै क्रममा रहेको बताउँदै आएको छ ।

यस तीन वर्षको अवधिमा प्रहरीले थुप्रै अभियुक्तलाई पक्राउ गर्याे । पक्राउ गरे पनि दोषी भने अहिलेसम्म फेला पार्न सकिएको छैन । दोषी पत्ता लगाउन पटक पटक छानबिन समिति बनाएर अनुसन्धान गरिएको भए पनि अहिलेसम्म वास्तविक अपराधि पत्ता लाग्न सकेको छैन ।

शुरुआतमा केपी शर्मा ओली नेतृत्वको सरकारले नै बेवास्ता गरेको उक्त घटनामा अधिकारवादीहरुदेखि दलहरुको चर्को विरोधबीच सरकार अनुसन्धान गर्न वाध्य भएको थियो । प्रहरीले विभिन्न विधि अपनाएर अनुसन्धान गरेको भए पनि अहिलेसम्म यो घटनाको वास्तविकता पत्ता लगाउन नसक्नुले अपराधि निर्वाध रुपमा उम्किरहेको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको घटनापछि पनि थुप्रै नेपाली बालिकाहरु बलात्कारपछि हत्याको शिकार भएका छन् । तर गम्भीर भएर घटनाहरु नकेलाइँदा अपराधीले उन्मुक्ति पाउने गरेको पाइएको छ । प्रहरीले आशा अझै मारेको छैन । परिवारले भने आशा मारिसकेको छ ।

निर्मला बलात्कारपछि हत्याजस्ता प्रकृतिका घटना बढिरहेका छन् । तर न दोषी भेटिन्छ न कारबाही नै हुन्छ । यसले नेपालको सुरक्षा सतर्कतामा नै ठूलो प्रश्न चिह्न उठाएको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको थियो । २०७५ साल साउन १० गते साथीको घरमा गएकी निर्मलाको शव ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो ।