विदेश

दक्षिण कोरियामा कोरोनाको चौथो लहर फैलियो


काठमाडौँ – दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै पछिल्लो केही सातादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ । चौथो लहरले महामारीको रूप लिन थालेपछि अस्पतालमा आईसीयु शैयासमेत अभाव हुन थालेको छ ।

कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक दुई हजारको हाराहारीमा कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिकसमेत छन् । स्वास्थ्य विभागका अनुसार केही सातादेखि थपिएका संक्रमितमा नयाँ प्रजातिको कोरोना डेल्टा भेरियन्टको समेत लक्षण देखिएको छ ।

सरकारले जारी गरेको कडा सामाजिक दूरीका बाबजुद पनि केही दिनयता नयाँ संक्रमितको संख्या दैनिक दुई हजारको हाराहारीमा देखिन थालेको छ । कोरियामा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८४ हजार १०३ पुगेको छ । मृत्यु हुनेको संख्या दुई हजार ६३ रहेको छ ।