राजनीति

ओलीले चुच्चे नक्सा फिर्ता गरे, देउवाले जमिन फिर्ता ल्याउलान् ? (भिडियोसहित)


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सत्ता बहिर्गमन र कांग्रेस सभापति शेरबहादुर देउवाको सत्तारोहणलाई राजनीतिक मात्र नभई भूराजनीतिक प्रभावका रुपले पनि महत्वपूर्ण मानिएको छ । छिमेकी र मित्रराष्ट्रहरुसँगको सम्बन्ध सुधारका लागि देउवा नेतृत्वको सरकारको नीति कस्तो रहला त ?

दुई छिमेकी देश भारत र चीन नेपालका लागि जति अवसर बन्न सक्छ, त्यति नै चुनौतीपूर्ण पनि छ । ओली सरकारले मौसमअनुसार ‘कार्ड’ चलाउँदा अन्तर्राष्ट्रिय सम्बन्धको तुलो सन्तुलनविहिन बनेको छ । तर अब भने लामो समययता बिथोलिएको राजनीतिक माहोललाई साम्य बनाउँदै परराष्ट्रनीतिलाई सुदृढ बनाउने जिम्मा अब कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा परेको छ । नेपालको अबको कुटनीति, पराराष्ट्रसम्बन्ध र पराष्ट्रनीति कस्तो हुनुपर्छ भन्नेबाहेक एमसीसी र बीआरआईका विषयमा देउवाले कस्तो कदम चाल्छन त्यसले भूराजनीतिको कोर्षलाई नयाँ रुप दिनेछ । तर यी कुटनीतिलाई सन्तुलनमा लिएर हिड्न भने निकै चुनौतिपूर्ण देखिएको छ ।

वर्तमान परराष्ट्र चुनौतिमध्ये एक हो नेपालले जारी गरेको चुच्चे नक्सा । राष्ट्रिय सहमतिका साथ केपी ओली प्रधानमन्त्री भएताका नेपालको लिपुलेक, कालापानी र लिम्पीयाधुरासहितको भू–भाग समेटेर आफ्नो चुच्चे नक्सा जारी गरेको थियो । तर नयाँ भूभाग समेटेको नेपालको नक्सा मान्न भारत तयार छैन् भने वार्ताका लागि पनि सकारात्मक देखिदैन । भारतलाई मनाएर देउवाले वार्तामार्फत आफ्नो जमिन फिर्ता ल्याउनु पर्ने चुनौति आइपरेको छ । यस्तै लिपुलेक कालापानी सडक, खोप कुटनीति, बीआरआई, इपीजी प्रवुद्ध समूहको प्रतिवेदन देउवाले कसरी अगाडि बढाउँछन् यसलाई चासोका साथ हेरिएको छ । त्यसका लागि अहिले वर्तमान अवस्थाको आँकलन गर्दै उनीहरुका चाहना र आफ्ना मुलभूत आवश्यक्ताहरु बुझेर अगाडी बढ्नुपर्ने विज्ञहरुको सुझाव छ ।

एमसिसि सम्झौता कसरी अगाडि बढ्छ ? यो पनि यो पनि देउवाका लागि चुनौतिको पहाड हो । एमसीसीको विषय उठान गरेर गठवन्धन भतकाउन खोजेको आशंका सत्ताघटन दलका नेताहरुलाई नै आभाष भइसकेको छ । केहीदिन अघिमात्रै एक चिनिया प्रोफेसरले एमसीसीकै कारण देउवा भारतसँगै नजिक भईसकेको टिप्पणी गरेका थिए । यो अवस्थामा दुवै छिमेकी राष्ट्रसँग सन्तुलन राखेर अगाडि बढ्नुपर्ने देउवासामू चुनौति देखिन्छन् । यी सवै समाधान गर्न देउवाले कस्तो व्यक्तिलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी सुम्पिएलान ? बदलिँदो विश्व राजनीतिक परिवेशमा त्यसलाई सन्तुलन मिलाएर अगाडि बढ्न राम्रो नेतृत्व चाहिने परराष्ट्र मामिलाका जानकार बताउँछन् ।

हुन त कुनै पनि देशबाट कार्यक्रम ल्याउँदा कुटनीतिमा सबैलाई रिझाउनु सम्भव नहुन सक्छ । यद्यपी परराष्ट्र मामिलाका जानकार भने कुनै पक्षलाई तत्काल आवेगमा आएर समर्थन गर्नुभन्दा त्यसबाट आइपर्ने चुनौति के छन्, त्यसको विचार गर्नुपर्ने सुझाव दिन्छन् ।