खेलकुद

राष्ट्रिय कीर्तिमान बनाउँदै छनौट चरणबाटै बाहिरिइन् सुटिङकी कल्पना


काठमाडौँ – वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी नेपाली सुटिङ खेलाडी कल्पना परियार छनौट चरणबाटै बाहिरिएकी छन् । छनौट चरणबाटै बाहिरिए पनि उनले टोकियो ओलम्पिक– २०२० मा राष्ट्रिय कीर्तिमानमा भने सुधार गरेकी छन् ।

शनिबार भएको महिला १० मिटर एअर राइफल इभेन्टको छनोट चरणमा कुल ५० खेलाडी मध्ये ६१६.८ स्कोर गरेकी उनी ४६औं स्थानमा रहँदै पहिलो चरणबाटै बाहिरिएकी हुन् । कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१, चौथोमा १०४.१ र पाँचौमा १०३.४ स्कोर गरिन् । अन्तिम सिरिजमा भने कमजोर प्रदर्शन गरेकी उनले १००.७ स्कोर गरिन् । छनोटबाट शीर्ष ८ स्थानमा रहने खेलाडी मात्र फाइनलमा प्रवेश गरेका छन् ।

कल्पनाले यसअघि १३औं दक्षिण एसियाली खेलकुद सागमा ६१४.५ स्कोर गर्दै कीर्तिमान बनाएकी थिइन् । १३औं सागमा उनी चौथो भएकी थिइन् ।

आजै नेपाली जुडो खेलाडी सोनिया भट्टले महिला ४८ केजीमा प्रतिस्पर्धा गर्दैछिन् ।