मौसम

आज मौसममा केही सुधार


काठमाडौँ – पानी पार्ने न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सर्दै गएका कारण आज र भोलि ठूलो पानी पर्ने सम्भावना कम रहेको छ । ठूलो पानी पर्ने सम्भावना कम रहे पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भने रहेको छ ।

बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो घाम लागेर गर्मी हुने भएकाले बेलुकातिर स्थानीय वायुको प्रभावका कारण मेघगर्जन र चट्याङ्गसहित देशका केही ठाउँमा सामान्य पानी भने पर्न सक्छ । तर ठूलो वा लगातार झरी पर्ने सम्भावना भने छैन ।

आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आउने सोमबार बेलुकादेखि भने मनसुन थप सक्रिय हुनेछ । सोमबार बेलुकादेखि विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ ।