राजनीति

संविधानको फैसलाले धेरै कुरा भत्काएको नेम्वाङको भनाई


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाले धेरै कुरा भत्काएको बताउनुभएको छ । सर्वोच्चले परमादेश दिनुले राज्यका अङ्गबीचको नियन्त्रण र सन्तुलनको सिद्धान्त अन्तर्गत नभएकाले राज्यका अङ्गबीचको सन्तुलन गुमेको उहाँले बताउनुभएको हो ।

प्रतिनिधि सभाको आज शुक्रवारको बैठकमा प्रधानमन्त्रीलाई दलका नेताको तर्फबाट बधाई तथा शुभकामना दिँदै नेम्वाङले फैसलाले धेरै कुरालाई भत्काउँदै प्रधानमन्त्री पदलाई कमजोर बनाएको टिप्पणी गर्नुभयो ।

अब राजनीतिक आन्दोलन गर्ने समय सकिएको भन्दै नेम्वाङले आफूहरू जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो । नेम्वाङले प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा कुनै पनि विशेष काम गर्न नहुने भए पनि सरकारले विश्वासको मत लिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

यस्तै उपनेता नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव नसार्न पनि आग्रह गर्नुभयो । नेम्वाङले जनादेश प्राप्त नभएकाले सरकारमा जान्नँ भन्ने शेरबहादुर देउवालाई अहिले बधाई दिनुपर्ने अवस्था आएको पनि बताउनुभयो । संविधानले प्रधानमन्त्री चयनको व्यवस्था गरेको र त्यो भनेको नागरिकको जनादेशबाट हुने गरेको नेम्वाङको भनाइ छ ।