खेलकुद

लिग निर्धारित मितिमा नै हुने


काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो साताबाट आयोजना हुँदै छ ।

१४ क्लब मध्येका चार ए डिभिजन लिग क्लबले मंगलबार लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापन पत्र बुझाएसँगै लिग अन्योल अवस्था पुग्ने आशंका देखिएको छ । तर अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग सुचारु हुने प्रतिक्रिया दिएको छ ।

असोजबाट हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लब सहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो सिजनमा लिगको पुछारमा रहेर लिग टुंग्याएको सरस्वती यो सिजनमा हुने छैन । शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ । फरक ढाँचामा सञ्चालन गर्न लागिएको लिगमा पहिलो चरणमा सबै क्लबले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् भने त्यसपश्चात शीर्ष ८ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।