काठमाडौँ – विश्व खेलकुदको कुम्भ मेला मानिने ओलम्पिक खेलकुद आजबाट जापानको टोकियोमा औपचारिक रुपमा सुरु हुँदै छ ।
जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुनेछ । नेपाली समय अनुसार दिउँसो ४ बजेपछि हुने उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाहले बोक्ने छन् ।
टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेका छन् ।
कोरोनाको असर नपरोस् भन्नका लागि स्वास्थ्य र सुरक्षामा विशेष जोड दिइएको छ । ओलम्पिक प्रतियोगिता स्थगित गर्नुपर्ने आवाज उठिरहेका बेला प्रतियोगिता हुन लागेको हो । यसअघि गएको वर्ष कोरोनाकै कारण प्रतियोगिता रोकिएको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण दर्शकको उपस्थितिबिना नै प्रतियोगिता हुनेछ ।
प्रतिक्रिया