राजनीति

कानून विपरीत खनालको उपचारका लागि ३० लाख निकासा


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अहिले उपचारका लागि भारतको एपोलो अस्पतालनमा भर्ना भएका छन् । खनालको दुवै मृगौलामा समस्या आए पछि उनी उपचारका लागि भारतमा छन् ।
खनाल अस्पतालमा भर्ना हुँदा पनि उनी विवादमा तानिएका छन् । खनालको उपचारका लागि सरकारले ३० लाख रुपैयाँ निकासा गरेको छ । सरकारले निकासा गरेको यो रकम कानून विपरीत हो । नेपालको कानुनमा विदेशमा गएर उपचार गराउने कुनै पनि नेता वा विशिष्ट व्यक्तिको खर्च सरकारले व्यहोर्ने उल्लेख गरेको छैन ।

यसअघि ओली नेतृत्व सरकारले गरेका कतिपय निर्णय उल्टाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले खनालको उपचार खर्चसम्बन्धी गैरकानुनी निर्णयलाई कायम राखेका छन्। प्रधानमन्त्री देउवाले गत मंगलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई भेट्न खुमलटार पुग्दा खनाललाई फोनमार्फत उपचार खर्च सरकारले बेहोर्ने वचन दिएका थिए।

खनालको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेको थियो । अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको थियो । एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै यो रकम निकासा भइसकेको थियो । खनालको विदेशमा उपचार गर्दा लागेको खर्च व्यहोर्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निर्णय नै गैरकानूनी थियो । २ असोज २०७५ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भनिएको छ । एमाले नेताहरुका अनुसार अब उनको मिर्गौला प्रत्यारोपण गरिनेछ ।

आफै उपचार रकम खर्च गर्न सक्ने नेताहरुको यसरी राज्यको पैसामा उपचार गरिनु राज्य कोषको दुरुपयोग भएको एक नेताले बताए । खनाल आफैले पनि यति पैशा जुटाउन सक्छन तर राज्यले उनको उपचारको लागि खर्च गर्नु राम्रो होईन स्वदेशमै उनको जस्तै विराम लागेका मानिसहरु अस्पतालको वेडमा छट्पटाएका छन् उनिहरुको ध्यान दिनुपर्छ विदेशमा गएर उपचार गर्नेहरुलाई राज्यले पैसा लगानी गर्नु एक राज्यकोषको पैसा बाहिर जान्छ त्यसैले यसरी रकम खर्च गरिनु राज्यकोषको दुरुपयोग भएको नेताहरु बताउछन् ।