काठमाडौँ – आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन । नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता खस्किएको छ । ब्याटिङ वरीयतामा कुशल ६१ औं स्थानमा रहेका छन् । यस अघि उनी ५९ औं स्थानमा रहेका थिए ।
कुशल बंगलादेशका शकिब अल हसन भन्दा अघि रहेका छन् । हसन ६२ औं स्थानमा रहेका छन् । घरेलु भूमिमा भएको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल वरीयतामा परेका हुन् । नयाँ वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्का एक स्थान सुधार गर्दै ९१ औं स्थानमा उक्लिएका छन् ।
यस्तै कप्तान ज्ञानेन्द्र मल्ल एक स्थान सुधार गर्दै ९५ औं स्थानमा रहेका छन् । खेलाडीको बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७९ औं स्थानमा रहेका छन् । नेपाल टी–ट्वान्टी वरीयतामा यथावत रहदै १३ औं र एकदिवसीयमा १६ स्थानमा रहेको छ ।
प्रतिक्रिया