राजनीति

‘राहतमा खसी देखाएर फर्सी दिने काम बन्द गरौं ‘ (भिडियोसहित)


काठमाडौँ – राज्य व्यवस्था तथा सुशासन समितिमा विपद् र दैविक प्रकोप सम्बन्धि विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ । समितिको मंगलवारको बैठकमा सभापति शशी श्रेष्ठले शुक्रवार मन्त्रीलाई बोलाएर यस विषयमा छलफल गर्ने बताउनुभयो ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले बाढी पहिरो तथा डुबानबाट पीडितभएका जनताको उद्दार, राहत तथा पुनस्र्थापनापछिको विषयमा जनस्तरबाट गुनासो आएको बताएका थिए । कतिपय स्थानमा सरकारको उपस्थिती नै नभएको भन्दै गृहमन्त्री बालकृष्ण खाँडलाई बोलाएर जानकारी लिने माग गरेका थिए ।

छलफलमा विपद् तथा दैविक प्रकोप सम्बन्धिका कुराहरुमा सांसदहरुले आफ्नो धारणा राखेका थिए । सांसद दिलेन्द्र प्रसाद बडूले प्रतिवेदनमा रहेका प्रमुख बुँदाहरु सचिवालयले उल्लेख गरेर आफ्नो भाषामा राख्न अनुरोध गरे । त्यस्तै छलफलमा बोल्दै सांसद विजय सुब्बाले प्रतिवेदन आफूले पढ्न पाउने माग राख्दै अध्ययनपछि मात्रै यसमा सुझाव दिनसक्ने बताए ।

त्यस्तै प्रेम सुवालले समितिमा पेश भएको प्रतिवेदनमा सुझाव नपुगेको गुनासो गरे । तीन वटै उपसमितिले बनाएको प्रतिवेदन अर्को एक समितिले हेर्दा उपयुक्त हुने उनको धराणा थियो ।
त्यस्तै सदा सुवेदी गुरुङले मनाङ र सिन्धुपाल्चोकका प्राकृतिक प्रकोपबाट पीडितलाई अझै राहत दिन नसकेको बताइन् । उनले राहतमा खसी देखाएर फर्सी दिने त्यो पनि आज, भोलि नभएर पर्सि भएको बताइन् ।
त्यस्तै डा. डिला संग्रौलाले उपसमितिले दिएको प्रतिवेदन स्विाकार्दै समितिका सुझावलाई प्रतिनिधि सभामा लैजाने वातावरण मिलाउन सुझाइन् ।

त्यस्तै लालबाबु पण्डितले उपसमितिको विषयमा छलफल मात्रै भएको तर समितिले प्रतिवेदन तयार नरगेको बताए । सुशासन समितिको बैठकमा बोल्दै पण्डितले समितिले प्रतिवेदन ड्राफ्टमा ल्याएर छलफल गर्नुपर्ने धारणा राखे । संसद पुनस्र्थापना भएपछि संसदीय राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो बैठक बसेको हो ।