देश

कक्षा १२ को परीक्षा साउन ३१ देखि, विद्यालयमै परीक्षा केन्द्र


काठमाडौँ – कोभिड -१९ महामारीका कारण स्थगित भएको कक्षा १२ को परीक्षा साउन अन्तिम साताबाट हुने भएको छ ।

मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा ३१ साउनदेखि ९ भदौसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा गर्ने निर्णय भएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमित दिएको थियो । सीसीएमसीले अनुमति दिएसँगै बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यससँगै बोर्डले कक्षा १२ को परीक्षाका लागि विद्यालयमै परीक्षा केन्द्र (होम सेन्टर) कायम गरेको सदस्य सचिव अर्यालले जानकारी दिए । जसअनुसार, देशभर चार हजार ३१० परीक्षा केन्द्र कायम भएका छन् ।

यसअघि कक्षा १२ को परीषा जेठमा गर्ने तय भएको थियो। कोरोनाको दोस्रो लहर चलेपछि स्थगित गरिएको थियो। कक्षा १२ मा तीन लाख ७५ हजार विद्यार्थी छन् ।

त्यस्तै, कक्षा १२ को परीक्षा सकिएपछि कक्षा ११ को आंशिक परीक्षा हुने भएको छ । कक्षा ११ का नियमित परीक्षाको जिम्मा भने विद्यालयलाई नै दिइएको छ ।