अर्थनीति

सरकारले घटायो कृषि तथा पशुपक्षी बीमामा दिँदै आएको अनुदान



काठमाडौँ – सरकारले कृषि तथा पशुपक्षी बीमामा दिँदै आएको अनुदान घटाएको छ ।


सरकारले चालू आवको बजेटमा कृषि तथा पशुपक्षी बीमामा दिँदै आएको अनुदान २५ प्रतिशत विन्दुले घटाएको हो । सरकारले यसअघि यस्तो बीमामा लाग्ने बीमाशुल्कमा ७५ प्रतिशत अनुदान दिँदै आएको थियो । तर, यस वर्षदेखि यस्तो बीमाशुल्कमा ५० प्रतिशत मात्र अनुदान दिने गरी व्यवस्था गरिएको हो ।

कृषि तथा पशुपक्षी मन्त्रालयले बाली तथा पशुपक्षी बीमा गर्ने कृषकलाई बीमाशुल्कमा ७५ प्रतिशत अनुदान दिँदै आएको थियो । त्यो अवस्थामा कृषकले २५ प्रतिशत मात्रा बीमाशुल्क तिर्नुपर्ने थियो । तर, अब कृषकले बीमा गर्दा लाग्ने शुल्कको ५० प्रतिशत रकम तिर्नुपर्ने भएको छ ।

सरकारले कृषिबीमामा दिने अनुदान घटाएसँगै समितिले पनि त्यो लागू गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ । समितिले हालै एक परिपत्र जारी गर्दै निर्जीवन बीमा कम्पनीहरूलाई सोहीअनुसार कृषि तथा पशुपक्षी बीमाको व्यवसाय गर्न निर्देशन दिएको हो ।

कृषिबीमामा दिने अनुदान घटाए पनि सरकारले खाद्य भण्डारणको बीमा प्रिमियममा भने ५० प्रतिशत नै अनुदान दिने गरी नयाँ व्यवस्था गरेको छ । सरकारले चालू आवमा स्थानीय तहमार्फत २०० ओटा खाद्य भण्डारण स्थापना गर्ने लक्ष्य पनि लिएको छ । सोही विषयलाई लक्षित गर्दै सरकारले खाद्य भण्डारण गृहको बीमा गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको बताइएको छ ।