राजनीति

देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुले अहिलेसम्म पाएनन् स्पष्टीकरण पत्र



काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको १८ घण्टा बितिसकेको छ।

तर देउवालाई मत दिएका सांसदहरुले अहिलेसम्म ओली पक्षबाट स्पष्टीकरण पत्र पाइनसकेको बताएका छन्। देउवालाई विश्वासको मत दिने माधवकुमार नेपाल पक्षका नेता विरोध खतिवडाले अहिलेसम्म स्पष्टीकरण पत्र प्राप्त नभएको बताउनुभएको छ ।

खतिवडाले आफूहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको मिडियाबाट थाहा पाएका बताउँदै। त्यो कुन आधारमा गरिएको निर्णय, कस्तो छ? पत्र प्राप्त नभएको बताउनु भयो । नेता खतिवडाले पत्र पाएको अवस्थामा मात्रै त्यसबारे ठोस प्रतिक्रिया दिन सकिने बताउनुभएको छ।

शेरबहादुर देउवालाई मत दिँदा दलको ह्वीप उल्लंघन नहुने सर्वोच्चले भनिसकेको छ। पार्टीको बैठकमा नआएको भनेर स्पष्टीकरण सोध्न लागिएको हो भने त्यसबारे थप छलफल हुनसक्ने बताउनुभयो ।

सोमबार ओली पक्षीय केन्द्रीय कमिटी बैठकले पार्टीको निर्देशनविपरीत देउवालाई मत दिएको आरोपसहित २२ जना सांसदहरुलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।