राजनीति

नेपाली कांग्रेसको वडा अधिवेशन केही दिन पर धकेलिने



काठमाडौँ– नेपाली कांग्रेसले साउन १२ मा गर्ने भनेको वडा अधिवेशन केही दिन पर धकेलिने भएको छ । क्रियाशिल सदस्यता विवादको छानबिन समयमा नसकिँदा नेपाली कांग्रेसले अब वडा अधिवेशन २२ साउनमा गर्ने तयारी गरेको कांग्रेस नेताले बताएका छन् ।

क्रियाशिल सदस्यता छानबिन समितिले बनाएको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई पेश गर्न ढिला भएकाले कांग्रेसको वडा अधिवेशन केही दिन पछाडि धकेलिएको छानबिन समितिले जनाएको छ।

कांग्रेसले क्रियाशिल सदस्यताको सूची खामबन्दी गरेर जिल्ला हुँदै वडामा पठाउनु पर्ने हुन्छ । यसका लागि पनि थप केही दिन आवश्यक देखिएको छ । केन्द्रीय निर्वाचन समितिले नामावली पाएपछि सबै जिल्लामा क्रियाशिल सदस्यताको सूची पठाउनु पर्ने हुन्छ ।

अब झन्डै १ सय ३० वडाको क्रियाशिल सदस्यता विवाद समाधान हुन बाँकी रहेको छ । अन्य विवाद टुंगिएका क्रियाशिल सदस्यताको सूची अब सभापति देउवालाई बुझाइने र वडा अधिवेशनको तयारी सुरु गर्ने बताइएको छ ।