राजनीति

संसदमा ओलीदेखि सुवास नेम्वाङ र राष्ट्रपतिलाई देउवाको क्लिएर कट प्रहार (भिडियोसहित)


काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनपछि प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार संसद्को विश्वास जितेका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक बसेको संसद्मार्फत विश्वासको मत लिने निर्णय गरेका देउवालाई ओली पक्षकै नेताहरुले फ्लोरक्रस गरेर मत दिए । त्यसबाहेक संसद् बैठकमा अजवगजबका दृश्यहरु देखिए ।

आफ्नो जीवनकालको पाँचौं र मुलुकको ४३ औं प्रधानमन्त्री बन्ने सौभाग्य पाएका कांग्रेस सभापति शेरबहादुर देउवासंग अधिकांशले एउटै गुनासो बढी गर्छन, ’बोलेको त फिटिक्कै बुझिदैन’ भनेर । सामान्य मानिस त ठीकै हो, एउटा सार्वजनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि देउवाको बोली नबुझेको र बेलुका मिडियामा आएपछि थाहा होला, के भन्नु भएको थियो भनेपछि, निकै चर्चा भएको थियो । तर अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएर आइतबार विश्वासको मत लिदाँ देउवाले क्लिएर कट बोले र राष्ट्रपतिलाई ध्यानाकर्षण गराए । देउवाले भने, ‘अब धेरै ओलीलाई उचाल्ने र पछार्ने काम नगर्नुहोला ।’

देउवाले संसद्लाई सम्बोधन गर्दैगर्दा प्रमुख प्रतिपक्ष दलको नेता निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी थिएनन् । प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख विपक्षी दलको नेता हुनैपर्ने परम्परा रहेको भन्दै देउवाले शुरुवातमै गुनासो विसाईसकेका थिए । किनकि ओली एमाले संसदीय दलको नेता पनि हुन् । संसदीय दलको नेता सहभागी नभएपछि देउवाको ध्यान उपनेता सुवासचन्द्र नेम्वाङतर्फ गयो । उनले संविधान मिचिदासमेत संविधानसभा अध्यक्ष भइ टोपलेको व्यक्ति नबोलेकोे बताए । तर उहाँलाई गाह्रो प¥यो होला भन्दै देउवाले व्यङग कस्न समेत भ्याए । त्यतिबेला नेम्वाङको अनुहार भने केही खिस्रीक्क परेको देखिन्थो ।

विपक्षीको तर्फबाट दलको नेता नभए उपनेता बोल्ने परिपाटी छ । तर आइतबार एमालेले प्रवक्ता प्रदीप ज्ञवालीलाई बोल्ने जिम्मेवारी सुम्पिएको थियो । प्रतिनिधिसभा विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्री नियुक्तीसम्म अदालत हाबी भएको र गलत निर्णय गरेको भन्दै आक्रोशित भाषण तर शिथिल लय समातेका ज्ञवालीले देउवाको उछितो काटिहाले, पहिले श्री ५ ले नियुक्त गर्ने देउवालाई यसपटक श्रीमान ५ ले नियुक्त गरेको भन्दै कडा प्रतिवाद गरे ।

अन्तिम समयमा भोट हाल्न भने ओली सहभागि भए र देउवालाई नमस्कार गर्दै हात मिलाएको दृश्य केही हेर्न लायक अनि रोचक थियो ।
देउवाले विश्वासको मत लिने कार्यतालिका भए पनि संसद् ओलीकै पेरिफेरीमा घुमिरहेको थियो । ओलीलाई सबक सिकाउनेदेखि सकाउनेहरु सबै ओलीको कान पुरापुर भर्ने तयारीमा थिए । त्यसमध्ये किङ मेकरको भूमिकामा रहदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सबैभन्दा धेरै हतारो थियो । तर उनी बोल्दा पनि ओली थिएनन्, तैपनि दाहालले आफु आगो भएको र आगोसंग नखेल्न ओलीलाई ध्यानाकर्षण गराए ।

दाहालकै जस्तो आक्रोश पूर्व माओवादी र हाल जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको थियो । उनले ओलीको किर्तेयुग सकिएकोमा हर्षबढाई गरे । साथसाथै भ्रष्टाचारबाट आफु पनि चोखो नभएको भन्दै सबैको छानविन गर्न माग गरे । उसै पनि आइतबारको संसदीय राजनीति गर्मागरम थियो । देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर सर्वाेच्चको रिटमा हस्ताक्षर धस्काएका एमाले नेता भीम रावलको राजीनामादेखि नै माहोल तातिएको थियो । त्यसबाहेक ओलीको यशम्यान मानिदै आएको जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले देउवालाई विश्वासको मत दिने भएपछि खेल बदलिएको थियो । देउवालाई विश्वासको मत दिने/नदिने आफैमा निर्धक्क नभएको माधव पक्षले संसद् बाहिर छलफल चलाईरहेको थियो ।

त्यतिकैमा देउवासंग यसअघि नै भेटेर मन्त्रिलगायतको बाग्रेनिङ गरेका प्रेम आलेसहित ओली पक्षकै आठ सांसदले फ्लोस क्रस गरेर देउवाको पक्षमा उभिएपछि माधव पक्ष झनै बलियो भएर संसद् छिरेको थियो । यी दृश्यहरुले पुनः एकपटक राजनीतिमा असम्भव भन्ने केही हुदैन भन्ने कथनलाई मात्रै पुष्टि गरेन, स्थायी शत्रु र मित्र पनि हुदैन भन्ने पुष्टि गरिदियो । अन्ततः संसद्मा उपस्थिति २ सय ४९ सांसदमध्ये देउवालाई विश्वास छ भन्ने पक्षमा १६५ सांसदले मत दिए भने विपक्षमा ८३ सांसद उभिए, एक सांसद तटस्थ बसे । आइतबारको रातमा देउवाले संसद्को विश्वास जितेसंगै अब देउवा सरकार ढुक्कले बाँकी रहेको १७ महिना चल्ने भएको छ ।