राजनीति

कुटाकुट नै गरेका कांग्रेसीले अब कहिले गर्लान महाधिवेशन, देउवा प्रधानमन्त्री बनेसंगै महाधिवेशन सर्छ त ?(भिडियोसहित)


काठमाडौँ – आगामी भदौ १६ देखि १९ सम्मलाई तय भएको १४ औं महाधिवेशन सम्पन्न गर्न सत्तारुढ नेपाली कांग्रेस मैदानमा होमिएको छ । तर महाधिवेशन नजिकिएको बेला सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको र क्रियाशिल सदस्यताको विवाद मत्थर नभएकाले महाधिवेशनप्रति आशंका गर्ने ठाउँ छ । महाधिवेशनको मिति निर्धारण गरेर पुनः सभापतिको दौडमा क्रियाशिल बनेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसंगै आसन्न १४ औं महाधिवेशन प्रभावित हुन सक्ने थुप्रै आँकलन काटिएका छन् ।

प्रधानमन्त्री बनेसंगै विश्वासको मत पाउन निकै संघर्षपूर्ण बन्दै गएपछि देउवा आफ्नो सरकार जोगाउने कि पार्टीको महाधिवेशनमा केन्द्रीत हुने निकै अन्योलपूर्ण अवस्थाबाट गुज्रिएका थिए । तर सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलोपटक आइतबार बसेको संसद अधिवेशनबाट विश्वासको मत प्राप्त गरेसंगै देउवा अब सरकारसंगै महाधिवेशनको तयारीमा होमिने भएका छन् । भदौभित्र महाधिवेशन नगरे संवैधानिक संकट ब्यहोर्नु पर्ने बाध्यताका बीच देउवासहितको सिङगो कांग्रेसपंक्ति महाधिवेशनको तयारीमा जुटेको छ । तर क्रियाशिल सदस्यता लगायतका विवाद समाधानले अझै निकास पाउन सकेको छैन । जसले महाधिवेशनमा होमिएको कांग्रेसलाई थप चुनौति थपेको छ ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन १२ गते, गाउँ र नगरको अधिवेशन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ हुनुपर्नेछ । तर क्रियाशील र समायोजन विवादका कारण वडा तथा गाउँ नगर अधिवेशन प्रभावित हुनसक्ने देखिएको छ ।

क्रियाशिल सदस्यताकै विषयमा विवाद हुँदा छानबिन समितिका सदस्यसमेत रहेका नेता श्याम घिमिरे आफ्नै पार्टीका नेता कार्यकर्ताबाट कुटिएका थिए । घिमिरेमाथि सदस्यता छानबिन स्थलमै पुगेर सिन्धुपाल्चोक एकका क्षेत्रिय सभापति बालकृष्ण बस्नेतसहितको समूहले आक्रमण गरेको थियो । आफ्नो पक्षमा धेरै संख्या पु¥याउन महाधिवेशनका बेला क्रियाशिल सदस्यताका विषयमा चलखेल हुँदै आएको छ । वडा तहदेखि नै केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भइसकेका व्यक्तिले हस्क्षेपकारी भूमिका खेल्दै आएका छन् ।

पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न र अन्तिम टुंगो लगाउन काम भइरहेको छ । तर दुर्भाग्यवश नहुनुपर्ने विवाद केन्द्रसम्म तन्किएको छ । विधानको पालना गर्ने र विवादहरूलाई छलफलबाट टुंग्याउने परिपाटी कमजोर हुँदा विवाद कचल्टिएको कतिपय नेताहरु बताउँछन् । अझ महाधिवेशन नजिकिएकै बेला सभापति देउवा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेपछि महाधिवेशनमात्रै नभएर पार्टीका बैठकहरुसमेत प्रभावित हुँदै आएका छन् । यद्यपी आइतबार देउवाले विश्वासको मत पाएर बाँकी रहेको १७ महिना नै सरकार ढुक्कले चल्ने अवस्था बनेपछि कांग्रेस महाधिवशेन पनि तोकिएकै समयमा हुने छनक देखिन थालेको छ ।